लुक्ला उडान अब रामेछापको मन्थली विमास्थलबाट



काठमाडौं,असोज ७ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुँदै आएको लुक्ला उडान अब रामेछापको मन्थली विमास्थलबाट हुने भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले केही समयअगाडि नै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुँदै आएको लुक्ला उडान मन्थली विमानस्थलबाट शुरु गर्ने निर्णय गरेको हो । 

प्राधिकरणका अनुसार रामेछाप–लुक्ला उडानको लागि विमानस्थलमा आवश्यक पर्ने संरचना तथा सेवा सुविधाका लागि विमानस्थल निर्माण भइरहेको छ । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले समेत यही असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान शुरु गर्ने तयारी गरिसकेका छन् । 

मन्त्रीले गरे विमानस्थल निरीक्षण

बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठ, नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहितको टोलीले मन्थली विमानस्थलको स्थलगत निरीक्षण गरेका छन् । रामेछाप–लुक्ला नियमित उडानको लागि विमानस्थल व्यवस्थित भए÷नभएको बारेमा मन्त्री श्रेष्ठले स्थलगत निरीक्षण गरेका हुन् । 

विमानस्थलको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले प्राधिकरणले  रामेछाप–लुक्ला उडानलाई व्यवस्थित बनाउने बताए । उनले विमानस्थल विस्तारको काम सकारात्मक रहेको भन्दै हवाई यात्रुहरूको लागि विमानस्थलमा आवश्यक संरचना निर्माण गरिने बताए । मन्थली विमानस्थलबाट लुक्ला उडान गर्ने यात्रुहरू बढी विदेशी पर्यटकहरू भएकाले विमानस्थललाई व्यवस्थित बनाउन आवश्यक रहेको उनको भनाइ छ । उनले मन्थली विमानस्थलमा नियमित काठमाडौं उडान गर्ने विषयमा मन्त्रालयले चाँडै निर्णय गर्ने प्रतिवद्धता जनाए । 

मन्त्री श्रेष्ठले विमानस्थलको निरीक्षणपछि विमानस्थलको विस्तार गरी ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्ने गरी धावनमार्ग लामो बनाउनुपर्ने आवश्यकता देखिएको बताए । उनले ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्ने १५/१६ सय मिटरको धावनमार्ग बनाउनुपर्ने देखिएको बताए । 

मन्त्री श्रेष्ठले विमानस्थलको थप सर्वेक्षण गरेर डिटेल रिपोर्ट आउनेबित्तिकै प्रक्रिया अगाडि बढाउने बताए । उनले विमानस्थलको सर्वे सकेसम्म दशैंअगाडि नभए दशैंलगत्तै गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्