बालेन, रवि र कुमार बेनप्रति महेश बस्नेतको कटाक्ष



काठमाडौं,कात्तिक १६ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनप्रति कटाक्ष गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले राज्यसत्ताको दुरुपयोग र प्रेस स्वतन्त्रतामाथिको प्रहारले देश बर्बादीतर्फ उन्मुख भएको आरोप लगाएका हुन् ।

उनले रवि लामिछानेलाई ‘जेठो’, प्रधानमन्त्री बालेन शाहलाई ‘माइलो’ र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई ‘साइलो’ को संज्ञा दिँदै लेखेका छन्, ‘जेठो भन्छ, १२ भाइ पत्रकारले देश डुबाए। साइलो भन्छ, २८ जनाभित्र नपर्ने के पत्रकार ? माइलो भन्छ, कुपण्डोल जाने पो पत्रकार, अरू त कलाकार।’

बस्नेतले प्रहरी प्रशासनको दुरुपयोग गरी आलोचनात्मक चेत राख्ने नागरिकमाथि धरपकड गरिएको भन्दै आपत्तिसमेत जनाएका छन् । राज्यका संस्थाहरूलाई कमजोर बनाउने र प्रेस स्वतन्त्रतालाई मजाक बनाउने प्रवृत्ति बढेको उनको दाबी छ ।

उनले पत्रकारितालाई कसैको स्वार्थको चस्माबाट नभई स्वतन्त्रता, निष्पक्षता र जवाफदेहिताको दृष्टिकोणबाट हेर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्