महँगी नियन्त्रण झन झन कठिन हुँदै, निम्न वर्गको चुल्हो निभ्ने खतरा



काठमाडौं,असोज ८ । नेपाली बजारमा शुक्रवार अमेरिकी डलरको भाउ यस अघि कहिले नदेखिएको स्तरमा उक्लिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि जारी गरेको विनिमय दर अनुसार एक डलरको खरिद मूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको छ । अर्थात् नेपालीहरुले एक डलर किन्न अघिल्लो दिनको तुलनामा  १ रुपैयाँ ४१ पैसा बढी खर्च गर्नु पर्नेछ । डलरको भाउमा यो स्तरमा उक्लिएको इतिहासमै पहिलो पटक हो ।

यस अघि साउन ५ मा डलर–रुपैयाँ विनिमय दर १२८ रुपैयाँ २९ पैसाको कीर्तिमानी उचाईमा थियो । त्यसयता भने डलर नेरु विनिमय दर क्रमिक रुपमा घट्न थालेको थियो । एक वर्ष अघिको तुलनामा डलरको भाउ नेपाली बजारमा अहिले ११ रुपैयाँ १८ पैसा महँगो भइसकेको छ । यो वर्षको शुरु हुँदाखेरिको तुलनामा भने डलर झन्डै साढे ७ रुपैयाँ महँगिएको छ । 

अहिले डलरको तुलनामा नेपाली रुपैयाँको भाउ कीर्तिमानी स्तरमा आउनुको कारण नेपालको आन्तरिक अवस्थाले गर्दा नभएर अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको आक्रामक ब्याजदर वृद्धि र विश्व बजारमा डलर सूचक बलियो हुँदाको परिणति भएको बताउँछन् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर  दीपेन्द्र बहादुर क्षेत्री । दशैंका मुखमा यसरी डलर महँगिएसँगै आयातित महँगी बढ्ने र नेपालीहरुको भात भान्सा नै प्रभावित हुने  पनि उनले बताएका छन् । 

न्यून आय भएका नेपालीहरू महँगिका कारण दैनिक जीवन यापन गर्नै नसक्ने अवस्थामा पुगिसकेको बेला डलरको ऐतिहासिक मूल्य वृद्धिले निम्न मध्यम र मध्यम वर्गीय परिवारलाई पनि दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्ने अर्थविदहरू बताउँछन् ।

नेपालको अर्थतन्त्र सबै आयातमा निर्भर रहेका कारण डलर तिरेर आयात गरिने हरेक वस्तुको मूल्य बढ्ने छ । विलासिताका वस्तु मात्रै आयात गर्नु परेको भए यसको असर उच्च वर्गमा मात्रै पर्न सक्थ्यो । तर नेपालमा त खाद्यान्न देखि पेट्रोलियमसम्म, नुनदेखि सुनसम्म सबै आयात गरिने भएकाले यसले निम्न वर्गको भान्सा निभ्न सक्ने उनीहरूको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्