विद्युतीय सवारीमा ह्वात्तै बढ्यो आकर्षण : एक महिनामा शतप्रतिशत वृद्धि, १ अर्ब ३२ करोड बढीको आयात



काठमाडौं,असोज ९ । नेपालमा विद्युतीय सवारीमा आकर्षण ह्वात्तै बढेको छ । चालु आर्थिक वर्ष २०७९/८० को दुई महिनामा १ अर्ब ३२ करोड बढी विद्युतीय सवारी आयात भएको छ ।

भन्सार विभागले हाल सार्वजनिक गरेको चालु आवको भदौ महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार उक्त अवधिमा १ अर्ब ३२ करोड ४२ लाख ७३ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक गाडी नेपाल भित्रिएका हुन् ।

उक्त अवधिमा १ हजार ८५९ वटा विद्युतीय कार, जीप, भ्यान र तीन पाङ्ग्रे सवारी आयात भएको विभागले जनाएको छ । यो गत साउन महिनाको तुलनामा भने १०० प्रतिशतले बढेको हो । साउन महिनामा ६६ करोड २० लाख ५८ हजार रुपैयाँ बराबरको ६७० वटा कार, जीप, भ्यान र तीन पाङ्ग्रे इलेक्ट्रिक सवारी आयात भएको छ ।

पछिल्लो सयमय नेपालमा ईभीको लहर चलिरहेको र यसप्रति विश्वास बढिरहेको नाडा अटोमोबाइल्स एशोसियनका सचिव अनुप कुमार बरालले बताए । उनले सरकारले विद्युतीय सवारीसाधनको भन्सार र अन्तशुल्कमा दिएको छुटको कारण पनि विद्युतीय सवारी साधनप्रती आकर्षण बढेको बताए । उनले भने, ‘अब नेपालमा विद्युतीय सवारीको नै भविष्य छ । भौगोलिक अवस्था अनुसार उपयुक्त हुने गाडीको पनि विकास हुँदैछ । छोटो दुरीका उपयुक्त हुने ईभी नेपालमा आइसकेका छन् । इभी प्रतिको आकर्षणलाई हामीले एकदमै सकारात्मक लिनुपर्छ ।’

नेपालमा चीन, भारत, अमेरिका र कोरिया लगायतका देशहरुबाट इलेक्ट्रिक सवारी आयात हुने गरेको छ । विभागका अनुसार सबैभन्दा बढी भारतबाट आयात भएको छ । भारतबाट ८४ करोड ३८ लाख ७१ हजार रुपैयाँ बराबरको ३४४ वटा विद्युतीय सवारी आयात भएको हो । उक्त देशबाट विभिन्न तौल क्षमताका इलेक्ट्रिक कार, जीप, भ्यान र तीन पाङ्ग्रे सवारी आयात भएको हो ।

चालु आवको भदौ महिनासम्मा कोरियाबाट २५ करोड ३३ लाख ९४ हजार र अमेरिकाबाट ४ करोड ७१ लाख ८० हजार रुपैयाँ बराबरको विद्युतीय सवारी नेपाल भित्रीएका छन् ।

नेपाल सरकारले पनि विद्युतीय सवारी साधानको प्रवद्र्धनका लागि विशेष पहल कदमी लिएको छ । प्राधिकरणले देशभर नै ५० भन्दा बढी विद्युतीय चार्जिङ्ग स्टेशन पनि निर्माण गरिरहेको छ । निजी क्षेत्रले पनि आफ्नै लगानीमा धमाधम चार्जिङ्ग स्टेशन निर्माण गरिरहेका छन् ।

यसैविच नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले विद्युतीय सवारीको प्रवद्र्धनका लागि पहिलो पटक विद्युतीय सवारीको प्रदर्शनी मेला पनि आयोजना समेत गरेको छ ।

नाडाले असोज ६ गतेदेखि ९ गते चार दिनसम्म इभि एक्स्पो आयोजना गरेको छ । उक्त इभी एक्स्पोमा विद्युतीय सवारी साधन, पार्ट पुर्जा, विद्युतीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको भव्य प्रदर्शनी रहेको थियो ।

एक्स्पोमा ७ वटा ब्राण्डका चार पांग्रे, एउटा तीन पांग्रे, १६ वटा ब्राण्डका दुई पांग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्