चालू आवका दुई महीना : विलासिताका वस्तुमा प्रतिबन्धले घट्यो आयात, व्यापार घाटामा पनि कमी  



काठमाडौं,असोज १० । नेपालमा चालु आर्थिक वर्ष (आव)को पहिलो दुई महीनामा आयात तथा निर्यातमा उल्लेख्य मात्रामा कमी आएको छ । 

भन्सार विभागका अनुसार गत साउन र भदौमा कूल २ खर्ब ७३ अर्ब ५९ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १३ दशमलव ०१ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा ३ खर्ब १४ अर्ब ५१ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

सरकारले विलासिताका वस्तुमा प्रतिबन्ध लगाएकाले याे अवधिमा आयात घटेकाे जानकारहरू बताउँछन् । 

उच्च व्यापार घाटा र विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले गत वैशाखमा विलासिताका सामान आयातमा कडाइ गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले  मोबाइल, मोटरसाइकल लगायत १० प्रकारका विलासी वस्तु आयातमा रोक लगाएको हो । तीमध्ये केही वस्तुको प्रतिबन्ध भने फुकुवा गरिएको छ । 

निर्यात पनि घट्याे

चालू आवकाे पहीलाे दुई महीनामा निर्यातमा पनि कमी भएको छ । विभागका अनुसार चालु आवको दुई महिनामा २८ अर्ब ६८ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३४ दशमलव ८८ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा ४४ अर्ब ३ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

व्यापार घाटामा पनि कमी

यो अवधिमा व्यापार घाटा पनि घटेको छ । यस अवधिमा कुल व्यापार घाटा २ खर्ब ४४ अर्ब १८ लाख रूपैयाँ बराबरको छ । यो गत आवको सोही अवधिको तुलनामा ९ दशमलव ४५ प्रतिशतले कम हो । समीक्षा अवधिमा २ खर्ब ७० अर्ब ४७ करोड रूपैयाँ बराबरको व्यापार घाटा थियो । 

यस वर्ष सरकारले विलासिताको वस्तुमा प्रतिबन्ध लगाएपछि व्यापार घाटा न्यूनीकरणको संकेत देखिएको जानकारहरू बताउँछन् । 

वैदेशिक व्यापारमा घट्याे निर्यातकाे हिस्सा 

दुई महिनाको अवधिमा कूल वैदेशिक व्यापार भने ३ खर्ब २ अर्ब २८ करोड रूपैयाँ बराबरको भएको छ । नेपालको कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सामा समेत कमी आएको छ । तथ्यांक अनुसार चालू आवको पहिलो दुई महिनामा कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९ दशमलव ४९ प्रतिशत रहँदा आयातको हिस्सा ९० दशमलव ५१ प्रतिशत छ । 

गत आवको सोही अवधिको तुलनामा निर्यातको हिस्सामा २२ दशमलव ७५ प्रतिशत कमी देखिएको छ । गत आवको सोही अवधिमा निर्यातको हिस्सा मात्र १२ दशमवल २८ प्रतिशत रहँदा आयातको हिस्सा ८७ दशमलव ७३ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्