यस वर्ष षडानन्द पुरस्कार पाउने व्यक्ति तथा संस्थाको घोषणा



काठमाडौं,असोज १२ । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले यस वर्षका षडानन्द राष्ट्रिय पुरस्कार, षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार र षडानन्द क्षेत्रीय पुरस्कार पाउने व्यक्ति तथा संस्थाको  घोषणा गरेको छ  । प्रतिष्ठानका अनुसार यस वर्षको षडानन्द पुरस्कार डा. तीर्थबहादुर श्रेष्ठलाई प्रदान गरिनेछ ।

शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणमा योगदान दिने व्यक्तिलाई उक्त पुरस्कार प्रदान गरिन्छ । यस वर्ष नेपालको पर्यावरण संरक्षणको क्षेत्रको अध्ययनमा उल्लेख्य योगदान दिएको भन्दै डा. श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले बताएको छ । उक्त पुरस्कारको राशि  १ लाख रुपैयाँ रहेको छ । गतवर्ष यो पुरस्कार देवघाटस्थित गलेश्वर आश्रमलाई प्रदान गरिएको थियो ।

यसैगरी यस वर्षको षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार काठमाडौंको भीमसेनस्थानमा रहेको परोपकार संस्थालाई प्रदान गर्ने निर्णय गरिएको छ । सामाजिक सेवामा समर्पित यस संस्थाले स्थापनाकालदेखि नै अनाथ बालबालिकालाई नि:शुल्क शिक्षा प्रदान गर्दै आएको छ । नेपालमा समाज सेवाका विविध क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्ति तथा संस्थालाई प्रदान गरिने उक्त पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ ।

प्रतिष्ठानका अनुसार यस वर्षको षडानन्द क्षेत्रीय पुरस्कार भने साहित्यकार तथा शिक्षासेवी दुर्गाप्रसाद अधिकारीलाई प्रदान गरिँदै छ । पूर्वाञ्चलमा शिक्षा, संस्कृति र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति/संस्थालाई यो पुरस्कार प्रदान गरिन्छ । भोजपुर, दिङ्लाका दण्डपाणि तथा युवाकुमारी चापागाईंको स्मृतिमा पुत्रहरू निरञ्जन चापागाईं र गायत्रीकुमार चापागाईंद्वारा स्थापित अक्षय कोषबाट प्रदान गरिने यो पुरस्कारको राशि ३५ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्