गुल्मीमा श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गयो
गुल्मी,कात्तिक ५ । गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–७ निवासी ४२ वर्षका सूर्यबहादुर कुमालको कुटपिटबाट ४० वर्षकी तालकुमारी कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी)माधवराज खरेलले बताए ।
कात्तिक १ गते श्रीमानको कुटपिटबाट घाइते तालकुमारीको स्थानीय लुम्विनी वामी हस्पिटल वामीटक्सार गुल्मीमा उपचार भइरहेको थियो । उनको शुक्रवार मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमान श्रीमतीले मदिरा सेवन गरेर घरायसी झगडाको क्रममा कुटाईबाट मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएको सूचना प्राप्त हुनसाथ प्रहरी अधिकृत समेतको टोली खटिइ घटनामा संलग्न सूर्य कुमाल लाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको (डिएसपी)माधवराज खरेलले बताए ।

