देशका विभिन्न स्थानबाट लागुऔषध र हतियारसहित ३१ जना पक्राउ



काठमाडौँ, कात्तिक १३ । प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको नियमित गस्ती तथा विशेष कारबाहीका क्रममा लागुऔषध, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि र हतियारसहित ३१ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुली, मोरङ, चितवन, धनकुटा, ललितपुर, झापा, तनहुँ, बाँके, कञ्चनपुर, सुर्खेत, सुनसरी, बर्दिया र भक्तपुरका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मूलकोटबाट एक सय ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूपन्देहीका २८ वर्षीय प्रकाश थापा र सप्तरीका २२ वर्षीय निराजन चौधरी रहेका छन् ।

मोरङको रतुवामाई नगरपालिका–६ बाट ५०० ग्राम खैरो हेरोइन, एक थान पेस्तोल र एक राउन्ड गोलीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अररियाका कुमार बोसाक, पुरनकुमार बोसाक र मोरङका योगेन्द्र ठाकुर रहेका छन् ।

प्रहरीले नियन्त्रणमा लिन खोज्दा एक जनाले पेस्तोल निकालेर गोली प्रहार गर्न खोजेपछि प्रहरीले जवाफी फायर गरेको थियो । त्यसक्रममा दीपककुमार र पुरनकुमार घाइते भएका छन् । उनीहरूको रतुवामाई नगर अस्पताल झुर्कियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोरङकै रतुवामाई–१० पोखरी बाँधबाट ६६ ट्याब्लेट ट्रामाडोल र ८६ ट्याब्लेट स्पास्पेनसहित झापाको दमकका सुमन सुवेदी पक्राउ परेका छन् । त्यस्तै मिक्लाजुङ गाउँपालिका–९ गणेशचोकबाट ५४० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित झापाका सन्तोष सार्की र कुशल दाहाल पक्राउ परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका–४ बर्मेली चोकबाट ६०३ ट्याब्लेट ऐनारगन र ६०३ ट्याब्लेट ट्रामाडोलसहित दुई जना पक्राउ परेका छन् । उनीहरूमध्ये भरतपुर–१५ का अस्मिन कुइँकेल रहेका छन् । प्रहरीले उनीहरूले प्रयोग गरेको स्कुटरसमेत बरामद गरेको छ ।

भरतपुर–१५ प्रगति टोलबाट दुई ग्राम ७२० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ, ३१ ट्याब्लेट ट्रामाडोल र डिजिटल तराजुसहित २६ वर्षीय नवीन गुरुङ र अमृत गुरुङ पक्राउ परेका छन् ।

धनकुटाको हिलेबाट दुई ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित २६ वर्षीय सुरज तामाङ र २७ वर्षीय शिशिर बस्नेत पक्राउ परेका छन् । ललितपुरको लगनखेलबाट ७०५ ग्राम गाँजासहित भारतका गौतमकुमार र २० वर्षीय आलोक जैसवाल पक्राउ परेका छन् ।

झापाको कनकाई नगरपालिका–४ बाट ७७० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित २५ वर्षीय सञ्जय चौधरी पक्राउ परेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीबाट ३०० एम्पुल डाइजिपाम, ३०० एम्पुल बुप्रेनोर्फिन र ३०० एम्पुल फेनारगनसहित १९ वर्षीय उज्वल विक पक्राउ परेका छन् ।

बाँकेको बैजनाथ गाउँपालिका–५ बाट ५३० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित मक्सुद अहमद इद्रिसी पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बाट ४९० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित चार जना पक्राउ परेका छन् ।

कञ्चनपुरकै लालझाडी गाउँपालिका–१ बाट दुई ग्राम ७५० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित २२ वर्षीय मनिष राना, श्रवण राना र २४ वर्षीय रोहित राना पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर–९ लाटीकोइली डाँडाबाट ७५० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ परेका छन् ।

त्यसैगरी सुनसरीको इटहरी–२ बाट एक ग्राम ५१० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित किशोर लिम्बू पक्राउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका–११ बाट २०० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित बाँकेका गोविन्द डाँगी पक्राउ परेका छन् ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ कौशलटारबाट २०० ग्राम पोलेनसहित रामेछापका उमेश दियाली पक्राउ परेका छन् । प्रहरीले उनले प्रयोग गरेको मोटरसाइकलसमेत बरामद गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्