आजबाट तिहार सुरुः कुन दिन के को पूजा, भाइटीकाको उत्तम साइत कति बजे ?
काठमाडौं,कात्तिक ५ । हिन्दु नेपालीहरुको महान् चार्ड तिहार (यमपञ्चक) कात्तिक ५ गतेबाट सुरु हुँदैछ । कात्तिक ५ गते शनिबार यमपञ्चकको पहिलो दिन धन त्रयोदशी व्रत र यमदीप दानबाट सुरु हुनेछ । यसै दिनबाट यमपञ्चक भरी साँझमा बत्ती बालिन्छ । सुन, चाँदी वा स्टिल, तामा, पित्तल, भाँडाकुँडा वा अन्य सगुनको सामानहरू घर भित्र्याउनु उत्तम मानिन्छ ।
कात्तिक ६ गते आइतबार
काग तिहार, यस दिन यमदूतका रूपमा कागलाई पूजा गरि खानेकुरा खान दिइने प्राचीन परम्परा छ । नरक चतुर्दशीका दिन बिहानै उठेर तिलको तेल लगाई नरके स्नान गरेमा वैज्ञानिक रुपमा शरीरभित्र पानी नपस्ने र धार्मिक दृष्टिले यस लोकमा सुख शान्ति मिल्नुका साथै नरक जानु नपर्ने जनविश्वास रहेको छ ।
कार्तिक ७ गते सोमबार
सोमबार कुकुर तिहार, नरक चतुर्दशी, गाईपूजा रहेको छ । यस दिन श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा, दीपमालिका र सुखरात्रि लागि कुनै साइतको आवश्यकता नपर्ने भएपनि गोधूली लग्न (वृष) साँझ ६: ३७ बाट ८: ३३ सम्मको समय शुभ रहन्छ । साथै साँझ सूर्यास्तको समय ५: २५ मा पनि लक्ष्मीपूजाको लागि उत्तम साइत रहेको छ । यसै दिन जगत् र प्राणीहरू सबैको भलो होस् भनी भैलो खेल्ने परम्परा पनि छ ।
कार्तिक ८ गते मङ्गलबार
मङ्गलबार खण्डग्रास सूर्यग्रहण लाग्ने छ । नेपाली समय अनुसार दिउँसोको ४ बजेर ५२ मिनेटमा स्पर्श हुने र साँझ ५ बजेर २४ मा सूर्यास्त सँगै ग्रहणको सुतक काल समापन हुनेछ ।
कार्तिक ९ गते बुधबार
बुधबार गोवर्धन पूजा, हलीतिहार र नेवार समुदायको म्हः(आत्म)पूजा गरिन्छ । यसै दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदादेखि नेपाल संवत् ११४३ प्रारम्भ हुन्छ । यस दिन साँझमा देउसी खेल्ने गरिन्छ ।
कार्तिक १० गते बिहिबार
बिहिबार भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको छ । यद्यपि भाइ टीकाको दिन दिनभरि नै राम्रो साइत भएकाले आफ्नो अनुकुल समयमा टीका लगाउन सकिन्छ । यस दिन दाजुभाइहरू पूर्व या पश्चिम तर्फ बस्ने र दिदीबहिनीहरूले टीका लगाई दाजुभाइलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका, गलामा दुबो र मखमलीको माला पहिराउने परम्परा रहेको छ ।
साथै दाजुभाइलाई मीठो मीठो परिकार खुवाउने गरिन्छ । यस दिन भाइटीका लगाएपछि यमपञ्चक सहित नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सकिन्छ ।

