प्रभावशाली नेता आफ्नै क्षेत्रमा सीमित



काठमाडौं, कात्तिक २९ । प्रमुख राजनीतिक दलका प्रभावशाली नेताहरू मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको दौरानमा यसपटक अन्य जिल्ला र क्षेत्रका कार्यक्रममा सहभागी भएका छैनन्। निर्वाचन आयोगले चुनाव प्रचारका लागि दिएको समय सकिन लाग्दा प्रमुख दलका शीर्ष नेताहरू चुनावी सभामा निस्के पनि पार्टीका प्रभावशाली र दोस्रो तहका नेताहरू भने आफ्नै क्षेत्रमा सीमित बनेका हुन्।

पार्टी र मुलुकको आगामी नेतृत्व लिने बताउँदै आएका र पुग्ने सम्भावनामा रहेको भनिएका नेताहरू आफ्नै क्षेत्रमा असुरक्षित देखिएपछि अन्यत्र भइरहेका चुनावी कार्यक्रममा सहभागी भएका छैनन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहित दलका दोस्रो तहका नेताले बाँकी दिनमा पनि आफ्नो निर्वाचन क्षेत्र छाड्ने संकेत देखिएको छैन। पार्टीभित्र र बाहिरबाट नेतृत्व हस्तान्तरण नगरेको भन्दै आलोचना खेप्दै आएका शीर्ष नेताहरू मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम पार्टीको पक्षमा पार्न चुनावी अभियानमा सक्रिय छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी अभियानमा छन्।

तर कांग्रेस नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङका साथै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित कार्यक्रममा सक्रिय छन्।

मोरङ ६ बाट चुनावी प्रतिस्पर्धामा रहेका शेखर कोइराला कांग्रेसभित्र संस्थापन इतरको गुटको नेतृत्व गर्ने नेता हुन्। नेता पौडेल, सिंह, सिटौला, शशांक, उपभापति खड्का मात्र होइन, महामन्त्री थापाले समेत आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आएका छन्। पार्टी मात्र होइन, देश नै सफा गर्न आफू ‘ड्राइभिङ सिट’मा बस्न चाहेको र त्यसका लागि चुनाव जित्नैपर्ने महामन्त्री थापाले बताउँदै आएका छन्। अर्का महामन्त्री शर्माले युवालाई प्रधानमन्त्रीका रूपमा अघि सार्न पनि आफू झापा १ बाट चुनाव जित्नुपर्ने बताउँदै आएका छन्। राष्ट्रिय नेताका छवि बनाएका उनीहरूसहित कांग्रेसका सहमहामन्त्रीहरूले आफ्नो क्षेत्र छाडेका छैनन्।

नयाँनयाँ राजनीतिक दलका साथै स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारले काठमाडौंसहितका ठाउँमा पाएको मतले परिणामको आकलन गर्न नसक्दा उनीहरू आफ्नै क्षेत्रमा सीमित भएका हुन्। २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रसहितको गठबन्धन हुँदासमेत चुनावी अभियानमा निस्केका कांग्रेसका नेताहरू अहिले माओवादी केन्द्र, नेकपा एससहितका दलसँग चुनावी तालमेल गर्दा पनि परिणामबारे ढुक्क बन्न सकिरहेका छैनन्। उम्मेदवारी मनोनयनका लागि आआफ्ना क्षेत्रमा पुगेका कांग्रेसका मात्र नभएर अधिकांश दलका नेता काठमाडौं फर्केका छैनन्। काठमाडौं नै चुनावी क्षेत्र भएका कांग्रेस महामन्त्री थापा, पूर्वमहामन्त्री सिंह, नेता प्रदीप पौडेलसहितका नेता आफ्ना क्षेत्रबाहेक अर्को क्षेत्रको चुनावी अभियानमा पनि देखिएका छैनन्।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्