अन्तत : थप पैसा तिरेर मात्रै नेपाली च्यानलमा विश्वकप हेर्न पाइने, पैसा नतिरेरै हेर्ने तरिका के ?



काठमाडौं,मंसिर १ । अन्तत : नेपालीहरूले विश्वकप हेर्न अतिरिक्त रकम खर्चिनुपर्ने भएको छ । सर्वोच्च अदालतले विश्वकप फुटबल प्रतियोगिताका नाममा कुनै पनि रकम नउठाउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेसँगै विश्वकप हेर्न अतिरिक्त रकम  लिने बाटो खुलेको हो ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले आज उक्त रिटमा सुनुवाई गर्दै विश्वकपको प्रत्यक्ष प्रसारणबापत शुल्क लिने ‘मिडिया हब’को निर्णय कार्यान्वयन गर्न बाटो खोलेको हो ।

मिडिया हबले ग्राहकसँग विश्वकप प्रसारणका लागि ५०० रुपैयाँ अतिरिक्त उठाउने निर्णय गरेको थियो । उक्त निर्णयका विरुद्धमा अधिवक्ता किशोर पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

यसअघि, न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले यही कात्तिक २२ गते विश्वकपका नाममा विज्ञापनबापत प्रतिग्राहक ५०० रुपैयाँ उठाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको थियो ।

रिट निवेदनमा राष्ट्रिय प्रसारण नियमावलीमा सरकारले बाहेक रकम तोक्न नपाउने व्यवस्थाविपरीत मिडिया हबले गरेको निर्णय रोक लगाउन आदेशको माग गरिएको थियो । केबल टेलिभिजन लिएबापत तिर्नुपर्ने सेवा शुल्क तिरेर सहजै विश्वकप हेर्न पाइने व्यवस्था रहेकामा निजी कुनै कम्पनीले त्यस्तो निर्णय गर्न नपाउने रिट निवेदनमा थियो ।

नेपालमा विगत लामो समयदेखि विश्वकप फुटबल प्रतियोगिताको टेलिभिजनमा विभिन्न च्यानलले प्रत्यक्ष प्रसारण गर्दै आएका छन् । आगामी मङ्सिर ४ गतेदेखि कतारमा विश्वकप हुँदैछ । विश्वकपमा यसभन्दा अघिका संस्करणहरू सहज तरिकाले हेर्न मिल्ने व्यवस्था रहेकोमा यसपटक शुल्क तोकिएको हो ।

अब नेपालमा बसेर पैसा नतिरेरै विश्वकप हेर्ने एउटा मात्रै उपाए भनेको अन्य कुनै देशको भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गरेर मोवाइल एपमार्फत हेर्ने विकल्प मात्रै बाँकी छ । यो विकल्पले त्यतिबेला मात्रै काम गर्छ जब विदेशी च्यानलले मोवाइल एपमा लाइभ स्ट्रिमिङ दिनेछन् । राससको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्