गठबन्धनलाई अगाडि बढाउनुपर्ने पक्षमा एकीकृत समाजवादी



काठमाडौं,मंसिर १४ । नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने पक्षमा उभिएको छ । मंगलवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष माधवकुमार नेपालले देश दक्षिणपन्थी दिशातिर जाने खतरा रहेको भन्दै आफूहरूले सतर्क हुनुपर्ने आवश्यकताको महशुस गरेको बताए । उनले गठबन्धन दलहरूका बीचमा भइरहेको सहकार्यलाई अगाडि बढाएर लानुपर्ने बताए । 

त्यस्तै सचिवालय बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा पुनः मतदान हुनुपर्ने माग राखेको सन्दर्भमा सो विषयमा समेत छलफल भएको उनले जानकारी दिए । बैठकमा उदयपुर जिल्लाको विषयमा पनि छलफल भएको उनले बताए । 

बैठकले पार्टीलाई मतदान गर्ने मतदाता, समर्थक, शुभचिन्तक र मतदान सम्पन्न गराउन भूमिका खेल्ने सरकारी निकायहरूलाई धन्यवाद ज्ञापन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनले गठबन्धनका कारण प्राप्त गरेका उपलब्धीहरूलाई रक्षा गर्दै आगामी दिनमा पनि गठबन्धनकै भावना अनुसार काम गर्ने पार्टीको निष्कर्ष रहेको स्पष्ट पारे ।

‘आज जे–जस्तो मत परिणाम हामीले प्राप्त गर्‍यौं । यो मत परिणाम हामीले सोचेजस्तो छैन । तर, सोचेजस्तो छैन भन्दैमा हामीले गठबन्धन सँगसँगै लागेर गठबन्धनका कारणले प्राप्त गरेका उपलब्धीहरूलाई रक्षा गर्नुपर्छ भन्ने ठाउँमा र गठबन्धनको भावना अनुसार भोलिपनि काम गर्नुपर्छ भन्ने ठाउँमा यो निष्कर्षमा हामी पुगेका छौं,’ उनले भने । 

उनले निर्वाचनको समग्र समीक्षा भने सबै जिल्लाहरूबाट रिपोर्ट आइसकेपछि आगामी बैठकहरूमा गरिने बताए । 

प्रतिक्रिया दिनुहोस्