सरकार आलोपालो चलाउने सहमति भएको छ : रेखा शर्मा



बुटवल,मंसिर १६ । दाङ–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) की नेत्री रेखा शर्माले सरकारको नेतृत्व आलोपालो गर्ने निर्णय भएको तर पहिला कसले नेतृत्व गर्ने भन्नेबारेमा सहमति जुटाउनुपर्ने बताएकी छन् । 

शुक्रवार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्रीमा दाबी रहनु स्वाभाविक भएको बताइन् । 

उनले माओवादी केन्द्र पनि गठबन्धनको दोस्रो ठूलो दल भएकाले पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेताहरूसँग छलफल गरेर प्रधानमन्त्रीको टुंगो लाग्ने बताइन् । माओवादी केन्द्रले गठबन्धनमा कुनै घात नगर्ने भएकाले माओवादीलाई विश्वास गर्न आग्रहसमेत गरिन् । 

नेत्री शर्माले पार्टीले मन्त्री पद दिए आफू जिम्मेवारी पूरा गर्न सक्षम रहेकोसमेत बताइन् । नेतृ शर्माले लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषयमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा भएपनि माओवादीको समर्थन र अग्रसरताले मात्रै सम्भव भएको बताइन् । उनले पोखरेलले राजधानी आफू र एमालेले लगेको श्रेय लिनु गलत भएको दाबी गरिन् । 

प्रतिक्रिया दिनुहोस्