सस्तिने भयो चामल : भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध हटायो



काठमाडौं,मंसिर १९ । कनिका र गैरबासमती चामल निकासीमा भारतले लगाएको प्रतिबन्ध फकुवा भएको छ ।

भारतले भदौ तेस्रो सातादेखि आन्तरिक उपलब्धतामा कमी हुन सक्ने ठहर गर्दै कनिकाको निकासीमा प्रतिबन्ध लगाएको थियो भने गैरबासमती चामलको निकासी नियन्त्रणका लागि २० प्रतिशत कर थप गरेको थियो ।

मंगलवार भारतको विदेश व्यापार महानिर्देशनालय(डीजीएफटी) ले सूचना जारी गर्दै कनिका र गैरबासमती चामलको निकासी प्रतिबन्धअघिको नियमअनुसार हुने स्पष्ट पारेको छ ।  यो निर्णयपछि नेपाललाई भारतबाट कनिका आयातमा सहज भएको छ भने भारतले यसअघि लगाएको अतिरिक्त कर पनि हटाएको छ ।

 त्यसबेला स्वदेशी आपूर्ति बढाउन उसिना चामलबाहेक गैरबासमती जातका चामलमा २० प्रतिशत निर्यात शुल्कसमेत लगाइएको थियो। अव भारतबाट आयात हुने चामल केही सस्तो हुनेछ ।

तत्कालिन समयमा सरकारले भारतमा खुद्रा मूल्य समेत बढ्दै गएपछि निकासीमा प्रतिबन्ध लगाई मूल्य घटाउने लक्ष्य राखेको थियो । नयाँ चामल उत्पादन हुन थालेसँगै निर्यातलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतिबन्ध फुकुवा गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

त्यहाँको वाणिज्य मन्त्रालयका अनुसार अप्रिलदेखि सेप्टेम्बरसम्म भारतले साढे ५ अर्ब डलरको चामल निर्यात गरेको छ । भारतले एक वर्षमा करीब १० अर्ब डलरको चामल निर्यात गर्नेछ । भारतले विश्वका १५० भन्दा बढी देशमा चामल निर्यात गर्छ । विश्वभर हुने चामलको व्यापारमा भारतको हिस्सा ४० प्रतिशत छ। 

प्रतिक्रिया दिनुहोस्