रुसी तेलको मूल्य ६० डलर प्रतिब्यारेल तोक्ने प्रस्ताव रुसले मानेन, युक्रेन भन्छ : ३० डलरमा झार



एजेन्सी,मंसिर १९ । घरेलु तेलको मूल्य प्रत्यिब्यारेल ६० डलर तोक्ने प्रस्ताव रुसी अधिकारीहरुले अस्वीकार गरेका छन् । फेब्रुअरी अन्त्यमा युक्रेनमाथि रुसले आक्रमण गरेयता युक्रेनका समर्थहरुले रुसमाथि एक पछि अर्को गर्दै अनेकौं प्रतिबन्धहरु लगाएका छन् । 

रुसी अर्थतन्त्रको मेरुदन्डको रुपमा रहेको कच्चा तेलको कारोबारमा घात पुर्‍याउन बेलायत, क्यानडा, जापान, अमेरिका, अष्ट्रेलिया र यूरोपेली संघ (ईयू) का २७ ओटा देशहरु समेतले शुक्रवार रुसले उत्पादन गर्ने कच्चा तेको भाउ ६० डलर प्रतिब्यारेलमा सीमित गर्ने सहमति गरेका थिए । यो सीमा सोमवारदेखि लागू हुँदैछ । 

ईयूले सोमवारदेखि नै रुसले समुद्र मार्ग भएर निर्यात गर्ने तेलमा पनि प्रतिबन्ध लगाउँदैछ । यसबारे ठोस प्रतिक्रिया जनाउनु अघि रुसले अवस्थाको विश्लेषण गर्न जरुरी भएको रुसी प्रवक्ता डिमिट्री पेस्कोभले भनेका छन् । यद्यपि, आफूले मूल्यमा सीमा स्वीकार नै नगर्ने उनले कडा चेतावनी दिएका छन् । 

रुसी तेलको भाउमा सीमा तोक्ने प्रस्तावको यूरोपेली समर्थकहरुलाई यो निर्णयको पछुतो हुने भियनामा अन्तरराष्ट्रिय संगठनका रुसका स्थायी प्रतिनिधि मिखाइल उल्यानोभले चेतावनी दिएका छन् । यो वर्षदेखि यूरोप रुसको तेल बिनै बस्नु पर्ने उनले एक ट्विटमा भनेका छन् ।

मूल्यमा सीमा तोक्ने  प्रस्तावको समर्थन गर्ने देशहरुलाई आफ्नो तेल नदिने रुसले यसअघि नै स्पष्ट पारिसकेको छ । ईयूले चाँडै नै रुसमाथि तेललाई हतियार बनाएको आरोप लगाउने पनि उनले अर्को ट्विटमा भनेका छन् । ईयूले ऊर्जा सुरक्षा ध्वस्त पारेको रुसले बताइरहेको छ । 

युक्रेनका राष्ट्रपनि भ्लोदिमिर जेलन्स्कीले भने शनिवार मूल्य सीमा थप कम गर्न अनुरोध गरेका थिए । ईयू र जी सेभेनको देशहरुले प्रस्ताव गरेको मूल्य पर्याप्त कम नभएको उनको दाबी छ । रुसी अर्थतन्त्रलाई छिटै तहसनहस बनाउन मूल्यको सीमा ३० डलरमा झार्नु पर्ने माग युक्रेनको छ ।

युक्रेन र रुसबीचको खिचातानीबीच प्रमुख पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र समूह बाहिरका अन्य मुख्य तेल उत्पादकहरु (ओपेक प्लस) ले मूल्य उत्पादनमा ठूलो कटौती गर्ने विश्लेषण गर्न लागिएको छ ।

रुसको कच्चा तेल निर्यातमा नयाँ प्रतिबन्ध र रुसी तेलको मूल्यमा सीमा तोक्ने कदमको प्रभावबारे विचार गरिरहेको ओपेक प्लसले आइतवार नयाँ चरणको उत्पादन नीतिबारे निर्णय गर्दैछ । विशेषगरी चीनको मागमा देखिन सक्ने कमीबारे विचार गरेर ओपेक प्लसले केही दिनमै उत्पादन कटौतीको निर्णय गर्न सक्ने ऊर्जा विश्लेषकहरुले बताएको भन्दै सीएनबीसीले समाचार छापेको छ । 

प्रतिक्रिया दिनुहोस्