भारतको मिचाहा प्रवृत्तिको विरोध गर्ने नेपाल सरकार विमुख: अनेरास्ववियु



काठमाडौं,मंसिर १९ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले दार्चुला घटनामा सरकार मौन रहेकोप्रति आपत्ति जनाएको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएकी हुन ।

दार्चुला जिल्ला सदरमुकाम खलंगा बजार स्थित नेपाल–भारत जोडने पक्की पुलमुनि महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले एकतर्फी रूपमा अनधिकृत तवरले पक्की संरचना बनाउँदै गर्दा नेपाली युवाहरूले विरोध प्रदर्शन गर्दा भारतीय पक्षको ढुंगा लागेर ४ जना स्कुलमा खेलिरहेका वालकहरू घाइते भएको घटनाप्रति अनेरास्ववियु सरकारको ध्यानाकर्षण गरेकोहो ।

पछिल्लो एक वर्षमा मात्र तीन पटक सीमा विवादका कारण स्थानीयहरू बीच वारिपारि ढुंगा हानाहान भई असहज परिस्थिति उत्पन्न हुँदा समेत सरकार मौन छ, उल्टै भारतको मिचाहा प्रवृत्तिको विरोध गर्ने नेपालीहरूलाई नै निरन्तर दमन र लाठीचार्ज गर्ने नेपाल सरकारको रवैयाप्रति अनेरास्ववियु घोर भर्सना गरेको छ ।

विज्ञप्तिमा भनेको छ सरकार निर्माण अगाडि नै सत्ता गठबन्धनका नेताले सार्वजनिक रूपमा नै भारतको लागि समेत कम्फरटेबल सरकार निर्माण गर्छौं भन्नु, तुइन तर्ने क्रममा भारतीय पक्षबाट तुइन काटेर नेपाली युवा जयसिंह धामी र सीमा मिचेर सडक निर्माण गर्दै गर्दा भएको विष्फोटमा परी नेपाली बालक पवन महराको मृत्यु हुँदा समेत देउवा नेतृत्वको गठबन्धन सरकार मौन रहनुले पनि सरकार कति निरीह छ भन्ने प्रष्ट हुन्छ ।

भूगोलमा मुलुक सानोठूलो हुन्छन् तर राष्ट्रियता र सार्वभौमिकतामा मुलुकहरू समान हुन्छन् भन्ने बिर्सिएर भारतीय पक्षको हेपाहा प्रवृत्तिको कुनै प्रतिक्रिया नजनाउनुले नेपाल सरकार देशको सार्वभौमिकता र आफ्ना नागरिकको जीवन रक्षा गर्ने कर्तव्य र जिम्मेवारीबाट विमुख हुँदै गएको स्पष्ट भएको अनेरास्ववियुको आरोप छ ।

साथै देशको सीमा र सीमा क्षेत्रका नागरिकहरूको जीवन रक्षा गर्न नेपाल सरकारसँग अनेरास्ववियु आफ्ना माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्