कांग्रेस र एमाले तीन–तीन प्रदेशमा पहिलो



काठमाडौं, मंसिर २० । गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको परिणाम आएको छ । सातै प्रदेशसभा गरी ३ सय ३० सांसद चयन गर्नका लागि निर्वाचन भएको थियो ।

प्राप्त परिणामअनुसार ७ मध्ये ३ वटा प्रदेशमा नेपाली कांग्रेस र ३ वटामा नेकपा एमाले पहिलो दल बनेको छ । बाग्मती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस र एमाले प्रदेश १, मधेस र लुम्बिनी प्रदेशमा पहिलो दल बनेको छ ।

कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेसले ९ र नेकपा माओवादी केन्द्रले पनि ९ स्थान जित्दै समान हैसियत बनाएका छन् ।

प्रदेश १ प्रत्यक्षतर्फको ५६ सिटमा कांग्रेस १७, एमाले २५, माओवादी केन्द्र ९ र एकीकृत समाजवादीले ३ स्थानमा जित निकालेका छन् । सो प्रदेशमा राप्रपाले २ स्थानमा जितेको छ । यी परिणामअनुसार प्रदेश १ मा एमाले पहिलो दल बनेको छ ।

मधेस प्रदेशको ६४ सिटमा एमाले १५, कांग्रेस १३, जसपा ९, लोसपा ७, जनमत पार्टी ६, माओवादी केन्द्र र एकीकृत समाजवादी ४÷४ स्थानमा विजयी भएका छन् । यहा“ ६ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यो प्रदेशमा पनि एमाले नै पहिलो बनेको छ ।

यसैगरी, बाग्मती प्रदेशसभाका ६६ सिटमा कांग्रेस २५, माओवादी केन्द्र १४, एमाले १३, राप्रपा ७, एकीकृत समाजवादी ५ तथा नेमकिपा र हाम्रो नेपाली पार्टी १÷१ स्थानमा विजयी भएका छन् । यो प्रदेशमा कांग्रेस पहिलो दल बनेको छ ।

त्यस्तै, गण्डकी प्रदेशसभाका ३६ सिटमा कांग्रेस १८, एमाले १२, माओवादी ४ र १ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । गण्डकीमा कांग्रेस नै ठूलो दल बनेको छ ।

लुम्बिनी प्रदेशसभाका ५२ क्षेत्रमध्ये एमाले १८, कांग्रेस १७, माओवादी ५, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टी २÷२, जनमत पार्टी १ तथा ३ स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । यो प्रदेशमा एमाले ठूलो दल बनेको छ ।

कर्णाली प्रदेशसभाका २४ सिटमा कांग्रेस र माओवादी ९(९, एमाले ५ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी बनेका छन् । यो प्रदेशमा कांग्रेस र माओवादीको हैसियत समान भएको छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेशसभाका ३२ क्षेत्रमा कांग्रेस १२, माओवादी केन्द्र ८, नागरिक उन्मुक्ति पार्टी ५, एमाले र एकीकृत समाजवादी ३÷३ तथा १ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । सुदूरपश्चिममा कांग्रेस नै ठूलो दलबनेको छ ।

प्राप्त परिणामअनुसार ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले १ सय ११ स्थानमा परिणाम आफ्नो पक्षमा पारेको हो । एमालेले ९१ सिटमा जित निकालेको छ भने माओवादी केन्द्रले ३ सय ३० मध्ये ५४ स्थानमा जित हात पारेको छ ।

उता, नेकपा एकिकृत समाजवादीले १५, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले ११÷११, लोकतान्त्रिक समाजवादी पार्टीले ९, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले ७÷७ तथा नेपाल मजदुर किसान पार्टी र हाम्रो स्वाभिमान पार्टीले १÷१ स्थानमा प्रदेश सभामा जित निकालेका छन् । ३ सय ३० मध्ये प्रदेशसभा सदस्यमा १२ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्