दशगजालाई नै असर पर्ने गरी भारतले लगायो पर्खाल



भैरहवा, मंसिर २१। रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा पर्खाल निर्माण सुरु गरेको छ । दशगजासँगै जोडिएर एकलौटीरूपमा पर्खाल निर्माण गर्न लागेकाले स्थानीय प्रशासनले यसमा आपत्ति जनाएको छ ।

भारतीय सुरक्षाकर्मी एसएसबीले भारतमा एकीकृत जाँचचौकी (आइसिपी) निर्माणका लागि भन्दै ठूलो क्षेत्रमा पर्खाल लगाउने तयारी गरेको छ । सशस्त्र प्रहरीको जिल्ला कार्यालय रहेको अगाडि नै भारतले दशगजाभरि इँटा खसालेको छ । पिलर नम्बर ५१८ को छेवैमा जग खनेर पर्खाललाई आवश्यक पिलर पनि ठड्याइसकेको छ ।

नेपाल निर्वाचनमा होमिएको समयमा भारतले एकलौटीरूपमा बनाउन लागेको पर्खालमा नेपाली प्रशासनले आपत्ति जनाएपछि अहिले निर्माण कार्य रोकिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए । “सशस्त्र प्रहरीले जिल्ला प्रशासन कार्यालयलाई भारतले निर्माण गरेको पर्खालबारे जानकारी गराएको थियो”, अर्यालले भने “हामीले तत्काल गृह मन्त्रालयलाई खबर गर्यौं र भारतीय पक्षलाई निर्माण कार्य रोक्न लगायौँ ।”

भारतले दशगजालाई नै प्रभावित पार्ने गरी निर्माण कार्य सुरु गरेको उनले जानकारी दिए । दशगजा क्षेत्रमा कुनै पनि काम गर्दा दुवै देशले अर्का देशको अनुमतिले मात्र निर्माण गर्न पाइने प्रावधान छ तर यसमा भारतीय पक्षले यसको पालना नगरेको पाइएको छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्