पाल्पाको एउटै गाउँमा पाँच करोडको सुन्तला



अर्घाखाँची, मंसिर २१ । पाल्पाको सिमानासँग जोडिएको पाणिनी गाउँपालिका–१ मा पर्ने सिम्ले गाउँका किसान यतिबेला सुन्तला टिप्ने, दाना छनौट गर्ने, क्यारेटमा भर्ने र गाडीमा लोड गर्ने कार्यमा व्यस्त छन्। खेताला र ज्यालादारी मजदुर राखेरै उनीहरू सुन्तला स्याहारिरहेका छन्।

अन्य परम्परागत खेती छाडेर सुन्तला खेती गरेका सिम्लेका किसानको वर्षदिनको खेतिपाती स्याहार्ने बेला यही हो। सिम्लेका ४९ घरपरिवारले व्यावसायीक सुन्तला खेती गरिरहेका छन्। सुन्तला बगैंचा विस्तार, मलजल र राम्रो मौसमका कारण एकै गाउँ सिम्लेमा अहिले गत वर्षभन्दा धेरै सुन्तला उत्पादन भएको किसानले बताएका छन्। ‘अहिले असिनाले चुट्न पाएन, स्याहार सुसार पनि राम्रै भाथ्यो, स्थानीय किसान हरि पौडेलले भने, ‘गएको वर्षभन्दा यस वर्ष सुन्तला राम्रो फलेको छ।’

यो वर्ष मात्र एउटै गाउँमा ५ करोडको सुन्तला फलेको छ। उनीहरूले सुन्ताल बेचेर कम्तीमा ३ लाखदेखि २८ लाख रूपैयाँसम्म आम्दानी गर्ने गर्छन्। अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर–१, पटौटीको सिम्ले गाउँमा मात्रै पाँच करोडको सुन्तला फलेको हो। यस गाउँका झन्डै चार दर्जन घरपरिवार व्यावसायिक सुन्तला खेतीमा लागेको र सुन्तला खेतीबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक माधव पौडेलले बताए।

उनले आफ्नो बारीमा ५ सय २५ बोट सुन्तला रहेको र यसबाट ३ हजार किलोभन्दा बढी दाना फलेको बताए। ‘यस वर्ष सुन्तला बिक्रीबाट २५ देखि २८ लाख आम्दानी हुने देखेको छु, उनले भने, ‘सबैले सुन्तला बेचेरै कमाउँछन्, यहाँको आम्दानीको मुख्य स्रोत सुन्तला नै हो।’ अर्का कृषक दधिराम गौतमले बारीमा ५ सय ६५ बोट सुन्तला लगाएका छन्।

उनका अनुसार गत वर्ष सुन्तला बिक्रीबाट ९ लाख रूपैयाँ आम्दानी गरेको र यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएकाले १४ लाख रूपैयाँ आम्दानी हुने अपेक्षा रहेको छ।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्