काठमाडौं देखि सुर्खेत उडान अब एटीआर ७२ बाट, न्यूनतम भाडादर ७ हजार मात्र



काठमाडौं,मंसिर २१ । बुद्ध एयरले आउँदो पुष १ गते देखि काठमाडौं-सुर्खेत उडान एटीआर ७२ जहाजबाट गर्न भएको छ। अहिले बुद्ध एयरले यस गन्तव्यमा एटीआर ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको छ ।

यात्रुहरुको बढ्दो माग र सुविधाका लागि बुद्ध एयरले यस गन्तव्यमा पनि एटिआर ७२ जहाजबाट उडान भर्न लागेको छ । यस जहाजको उडानबाट यात्रुहरु अधिक लाभान्वित हुने बुद्ध एयरले विश्वास लिएको छ । हाल सञ्चालनमा रहेको एटिआर ४२ उडान बाट यात्रुहरुको माग अनुरुप सिट संख्या उपलब्धता कम रहेको तथ्यलाई आत्मसात गर्दै एटिआर ७२ मार्फत उडान सञ्चालन गर्न लागेको छ ।

सानो जहाजको सञ्चालन खर्च उच्च हुनेहुँदा भाडादरमा यसको प्रत्यक्ष प्रभाव पारेको छ । एटीआर ७२ बाट उडान गर्दा यात्रु सिट संख्या र सञ्चालन खर्च कम हुने हुँदा यसको प्रत्यक्ष लाभान्वित यात्रुहरुले पाउनेछन् । ठूला जहाजको उडानमा कम भाडादरका सिटहरु पनि उपलब्ध हुनेछन् । यस गन्तव्यमा न्यूनतम भाडादर ७ हजार रुपैयाँबाट शुरु हुने र माग अनुसार दैनिक २ उडान पनि बुध्द एयरले भर्नेछ । यसबाट त्यहाँका स्थानीय यात्रुहरु थप लाभान्वित हुने बुद्ध एयरले प्रेस विज्ञप्तिमा जनाएको छ ।

पुष १ गतेदेखि देखि अब दैनिक बिहान १० बजे काठमाडौंबाट सुर्खेत र ११:३५ बजे सुर्खेतबाट काठमाडौँको तालिका बुद्ध एयरले जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्