आँखै अगाडि मृत्यु आएपछि ९ वर्षीया छोरालाई पठाए भिडियो सन्देश, अनि १२ तलाबाट हाम फाले



काठमाडौं,पुस १६ । कम्बोडियाको एक होटलमा आगलागी हुँदा झापाका ४० वर्षीया निराकार पाण्डेको मृत्यु भएको छ । होटलको क्यासिनोमा भएको भीषण आगलागीमा परेर कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये पाण्डे एक्ला नेपाली नागरिक हुन् । 

कम्बोडियामा रहेका एक नेपालीले स्थानीय प्रहरीमा गएर शव सनाखत गरेका छन् । थाइल्याण्डस्थित नेपाली दूतावासमार्फत शव ल्याउनका लागि पहल भइरहेको छ ।

व्यवसायको सिलसिलामा सिलवाल एक महिना अघि मात्रै भिजिट भिसामा कम्बोडिया गएका थिए । उनी अंग्रेजी नयाँ वर्षमा घर फर्किने तयारीमा थिए । त्यहाँको ग्राण्ड डायमन्ट सिटी बिल्डिङमा रहेको होटल क्यासिनोको १२ औं तलामा उनी बसेका थिए ।

स्थानीय समयअनुसार बिहीबार राति साढे ११ बजेपछि आगलागी शुरू भएको बीबीसीले जनाएको छ । आगलागी भएपछि केही व्यक्ति भवनबाट हामफाल्दै गरेका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।

राति आगो लागेको थाहा पाएपछि उनी निस्किन खोजेका थिए । साथीहरुले पनि करिडोरबाट माथि जान भने पनि उनको करिडोरसम्म आगो लागिसकेकाले उनले परिवारलाई भिडियो सन्देश पठाएर १२ औं तलाबाट हाम फालेका थिए ।

बाहिर निस्किन सक्ने सम्भवना नरहेपछि पाण्डेले घरमा फोन गरेर परिवार र आफन्तसँग कुरा गरेका थिए । 

बाहिर सार्वजनिक भएको एक भिडियो सन्देशमा पाण्डेले दिनेश सिलवाललाई आफ्नो परिवारको ख्याल राखिदिन आग्रह गरेका छन् । उनले अब आफू नरहने भन्दै ९ वर्षीय छोरा र परिवारको हेरचाह गरिदिन सलवाललाई आग्रह गरेका हुन् ।

उनले परिवारलाई पठाएको भिडियो सन्देशमा छोरालाई धेरै माया गर्ने बताउँदै ‘राम्रो मान्छे बन्न र कसैलाई चिट, फ्रड नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्