एउटै कुवाको पानीको भरमा एक सय परिवार

प्युठान,पुस १८ । प्युठानको झिमरुक गाउँपालिका–६ तोरबाङका एक सय बढी परिवार बर्षौदेखि एउटै कुवाको पानीको भरमा गुजारा गर्न बाध्य भएका छन् ।
तोरबाङ, जनैपोखरा र धनमुढा गाउँका एक सय घरपरिवार बाह्रै महिना ठुलापधेंरा कुवाको पानी पिउँछन् । गाउँको नजिकमा कतै पनि पानीका मूल नभएकाले कुवाको पानी पिउनुपर्ने बाध्यता रहेको स्थानीय लोकबहादुर पुनले बताए । पुनले भने- एक गाग्री पानी लिन एक घण्टा लगाएर कुवामा पुग्नुपर्छ अनि घण्टौँ पालो कुरेर पानी भर्नुपर्ने बाध्यता छ।
एउटै कुवामा गाउँले निर्भर हुनुपर्ने भएपछि बिहान उज्यालो नहुँदै कुवामा पानी भर्नेको लर्को देखिन्छ । खानेपानीको समस्याले घरायसी कामकाजमा बाधा परेको उहाँको भनाइ छ । चुनावको बेला नेताहरूले पानी ल्याई दिने आस देखाए पनि अहिले फर्केर नआएको स्थानीयको गुनासो छ ।
पानीको समस्या भएकाले यी बस्तीमा पानीको व्यवस्था गर्न सङ्घीय सरकारबाट परेको ३ करोड रुपियाँ बजेट आएकाले काम सुरु गर्ने तयारीमा रहेको वडाध्यक्ष धनबहादुर पुनले जानकारी दिए ।