मन्त्रालयको संख्या घटाएर मितव्ययी सरकार बनाउन राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको सुझाव



काठमाडौं,पुस २० । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सानो मन्त्रीमण्डल विस्तार गरेर मितव्ययी सरकार बनाउन सरकारसँग आग्रह गरेका छन् । मंगलवार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

उनले पार्टी धेरै भए भन्दैमा मन्त्रालयको संख्या नै बढाउने काम गर्नु नहुनेमा जोड दिए । उनले गठबन्धनमा सहभागी सबै पार्टीले मिलेर आवश्यक मन्त्रालय मात्रै बनाइ जनताका समस्या समाधान गर्ने दिशामा लाग्न अपरिहार्य भएको बताए । सरकारले २० जनासम्मको मन्त्रीमण्डल विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले ठूलो मन्त्रीमण्डल बनाउँदा राज्यको खर्च बढी हुने र विकास निर्माणका कामले पनि गति लिन नसक्ने बताए । देशको अर्थतन्त्र नाजुक अवस्थामा रहेको भन्दै अर्थतन्त्रको सुधारका लागि सबै किसिमबाट मितव्ययी बन्नुपर्ने उनको भनाइ छ । अध्यक्ष तिमिल्सिनाले प्रदेशमा पनि मन्त्रालयको संख्या बढाउँदा आलोचना खेप्नु परिरहेको भन्दै कम मन्त्रालय बनाउन सुझाव दिए । 

प्रतिक्रिया दिनुहोस्