तीन वर्षभित्र पूर्वपश्चिम राजमार्ग अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति हुने



काठमाडौँ, वैशाख ४ । सरकारले आगामी तीन वर्षभित्र पूर्वपश्चिम राजमार्ग लाई अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा स्तरोन्नति गर्ने लक्ष्य अघि सारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा यस्तो उल्लेख गरिएको हो।

पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म फैलिएको यो राजमार्ग हाल विभिन्न छ खण्डमा विस्तार भइरहेको छ। मुलुककै यातायातको ‘लाइफ लाइन’ मानिने राजमार्ग विस्तारपछि तराई/मधेशसहित देशको आधाभन्दा बढी जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

हाल दुई लेनको रूपमा रहेको राजमार्गलाई सहरी क्षेत्रमा सर्भिस लेनसहित छ लेन र कम सवारी चाप भएका वन तथा ग्रामीण क्षेत्रमा चार लेनमा विस्तार भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ई. सुशीलबाबु ढकालले जानकारी दिनुभयो।

दक्षिण एसिया क्षेत्रीय आर्थिक सहकार्य (SASEC) कार्यक्रम अन्तर्गत एसियाली राजमार्ग मापदण्ड अनुसार विस्तार कार्य भइरहेको छ। हाल काँकडभिट्टा–इटहरी, कञ्चनपुर–कमला, कमला–ढल्केबर–पथलैया, नारायणगढ–बुटवल, बुटवल–गोरुसिङ्गे–चनौटा र कपिलवस्तु–दाङ खण्डमा काम भइरहेको छ।

यीमध्ये केही खण्ड विश्व बैंक तथा एसियाली विकास बैंक को सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेका छन् भने कपिलवस्तु–दाङ खण्ड एमसिसी परियोजना अन्तर्गत निर्माण भइरहेको छ।

यद्यपि २०७५ सालदेखि ठेक्का प्रक्रिया सुरु भए पनि हालसम्म कुनै पनि खण्डको काम पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन।हेटौँडा–नारायणगढ खण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) तयार भइसकेको छ।

सरकारले यातायात पूर्वाधारलाई एकीकृत गर्दै राजमार्ग, जलमार्ग र विमानस्थललाई जोड्ने ‘मल्टिमोडल ट्रान्सपोर्ट सिस्टम’ विकास गर्ने योजना समेत अघि सारेको छ।

साथै, विकास आयोजनालाई ‘मिसन मोड’ मा कार्यान्वयन गर्ने, अन्तरनिकाय समन्वय सुदृढ गर्ने, समयबद्ध कार्ययोजना लागू गर्ने र प्राथमिकताका आधारमा मात्र बजेट विनियोजन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्