ज्यानसम्बन्धी मुद्दामा गाउँपालिकाका उपाध्यक्ष पक्राउ
काठमाडौँ, वैशाख ४ । कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथ पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार नाथलाई बिहीबार महेन्द्रनगरबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार ज्यानसम्बन्धी मुद्दामा पक्राउ परेकी नाथलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ। इलाका प्रहरी कार्यालय बेल्डाडीबाट मुद्दा अघि बढाइएको र किटानी जाहेरीका आधारमा जिल्ला अदालत कञ्चनपुरबाट पक्राउ अनुमति लिएपछि उनलाई नियन्त्रणमा लिइएको शाहीले जानकारी दिनुभयो।
यसअघि कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरस्थित घटियाघाट रोड नजिकै मोटरसाइकलसहित जलेको अवस्थामा एक पुरुषको शव फेला परेको थियो। मृतक बेल्डाँडी गाउँपालिका–३ कमरीका करिब ५० वर्षीय हरिकिसन राना रहेको पुष्टि भएको थियो।
उक्त घटनालाई लिएर प्रतिनिधिसभामा समेत आवाज उठेको थियो।कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का सांसद दीपक बोहराले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभएको थियो।घटना सडक छेउमै भएकाले दुर्घटना वा हत्या भन्ने विषयमा प्रहरी अनुसन्धान जारी रहेको थियो भने अहिले उपाध्यक्ष नाथको पक्राउसँगै घटनाले नयाँ मोड लिएको छ।

