प्रधानमन्त्री बालेन्द्र शाह र मुख्यमन्त्रीबीच छलफल, समन्वय सुदृढ गर्ने सहमति



काठमाडौँ, वैशाख ४ । प्रधानमन्त्री बालेन्द्र शाह ले पाँच प्रदेशका मुख्यमन्त्रीसँग आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट, कानुन तथा नीति निर्माणका विषयमा विस्तृत परामर्श गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार करिब तीन घण्टा चलेको बैठकमा सङ्घ र प्रदेश सरकारबीच देखिएका नीतिगत उल्झन समाधान गर्दै समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित छलफल भएको हो।

बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमती प्रदेशका इन्द्रबहादुर बानियाँ, लुम्बिनी प्रदेशका चेतनारायण आचार्य र कर्णाली प्रदेशका यामलाल कँडेल सहभागी हुनुभएको थियो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की मातृशोकमा र सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह स्वास्थ्योपचारमा रहेकाले अनुपस्थित रहनुभयो।

प्रधानमन्त्री शाहले सङ्घ र प्रदेशबीच देखिएका समस्या समाधानका लागि साझा संयन्त्रमार्फत तत्काल काम अघि बढाइने स्पष्ट पार्नुभयो। उहाँले प्रदेश सरकारलाई तत्काल सुधार गर्न सकिने कार्यमा ढिलाइ नगर्न आग्रह गर्दै बजेट विनियोजनमा कुनै विभेद नहुने बताउनुभयो।

छलफलमा सङ्घीयता कार्यान्वयन, अधिकार बाँडफाँट, बजेट विनियोजन र विकास योजनाको प्रभावकारी कार्यान्वयनका विषय उठेका थिए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले सङ्घीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सिर्जनशील ढङ्गले अघि बढ्ने समझदारी बनेको बताउनुभयो।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ का अनुसार तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वलाई अझ सुदृढ बनाउने विषयमा छलफल केन्द्रित थियो। उहाँले समानीकरण, सशर्त र विशेष अनुदान घट्दै गएको विषयमा ध्यानाकर्षण गराइएको उल्लेख गर्नुभयो।

मुख्यमन्त्रीहरूले सङ्घीय कानुन नबन्दा प्रदेशले पाएका अधिकार कार्यान्वयनमा समस्या भएको गुनासो गरेका छन्। सङ्घीय निजामती सेवा ऐन, प्रहरी समायोजन ऐन तथा वन ऐन संशोधन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ले प्रशासनिक सुधार र सङ्घीयताको सुदृढीकरणका लागि तीन तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले छलफल सकारात्मक भएको बताउँदै सङ्घ–प्रदेश सम्बन्धमा देखिएका असमानता समाधान गर्ने दिशामा सहमति बनेको उल्लेख गर्नुभयो। उहाँले तीन तहका सरकारबीचको प्रभावकारी समन्वयबाट मात्रै सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न सकिने बताउनुभयो।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले पनि संवाद सकारात्मक रहेको जनाउँदै नीतिगत तथा प्राविधिक समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्