त्रिपुरेश्वरस्थित बागमती स्वीट्स शिलबन्दी, गुणस्तरमा गम्भीर लापरवाही भेटियो
काठमाडौँ,बैशाख ४ — कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनमा काठमाडौँ–११ त्रिपुरेश्वरस्थित बागमती स्वीट्स प्रालिलाई शिलबन्दी गरिएको छ।
चैत ३० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त अनुगमन टोलीले सो उद्योगमा सरसफाइ तथा गुणस्तरसँग सम्बन्धित गम्भीर कमजोरी फेला पारेपछि शिलबन्दी गर्ने निर्णय गरिएको हो।
उक्त प्रालिलाई यसअघि उत्पादन रोक्न चेतावनी दिइए पनि अटेरी गरेपछि मन्त्री चौधरीको आदेशमा आज शिलबन्दी गरिएको जनाइएको छ।
अनुगमनका क्रममा उत्पादन रोक्का गरिएको उक्त उद्योगले सरकारी कार्यालयमै खाजा आपूर्ति गर्दै आएको समेत पाइएको छ। यस विषयमा थप अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाइने सम्बन्धित निकायले जनाएको छ।
मन्त्री चौधरीले खाद्य स्वच्छताका विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै नागरिकको स्वास्थ्यमा असर पार्ने गतिविधिमा संलग्न जो–कसैलाई पनि कडा कारबाही गरिने स्पष्ट पार्नुभएको छ।

