राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा



काठमाडौं,पुस २४ । मुलुकमा संघीय संरचनामा गएपछि पहिलोपटक गरिएको राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा पुगेको छ । उक्त गणनाअन्तर्गत देशभर उत्पादन हुने विभिन्न बालीनालीको अवस्था, कृषि क्षेत्रको विवरण, कृषि उत्पादनमा समेटिएको क्षेत्रफल, पशुपक्षीको संख्या, सिँचाइ, कृषि सामग्रीको प्रयोग, माछापालनलगायत विवरण संकलन, प्रशोधन तथा प्रकाशन गर्ने कार्य अन्तिम अवस्थामा पुगेको राष्ट्रिय तथ्यांक विभागले बताएको छ । आगामी माघभित्र गणनाको परिणाम प्रकाशन गर्ने तयारी छ । पहिलोपटक पालिकास्तरदेखि नै कृषकको अवस्था खेतीपाती गरिएका कित्ताको क्षेत्रफल, उत्पादनलगायत विषयको तथ्यांक संकलन गरिएको हो । कृषि गणनामा देशभरको कृषि क्षेत्रका समग्र विषयवस्तु संकलन हुने विभागको भनाइ छ । २०१८ सालदेखि प्रत्येक १०/१० वर्षमा कृषि गणना हुँदै आएको छ ।

यस क्रमको यो सातौं राष्ट्रिय कृषिगणना २०७८ को चैत, वैशाख र जेठमा सञ्चालन गरिएको तथ्यांक अधिकृत गणेश फुयाँलले जानकारी दिए ।

यसपटकको राष्ट्रिय जनगणनाअन्तर्गत पारिवारिक विवरण संकलन गर्दा हरेक परिवारले चलन गरिआएको खेतीपातीको क्षेत्रफल र पशुपक्षीको संख्या संकलन गरिएको थियो । सोही लगतका आधारमा ७७ जिल्लाका ७ सय ५३ स्थानीय तहमा वैज्ञानिक छनोट विधिले छानिएका गणना क्षेत्र (वडा, वडाखण्ड)मा रहेका कृषक परिवारको सूची अद्यावधिक गरी निश्चित मात्रामा कृषक परिवार  छानिएको र कृषक परिवारसँग व्यक्तिगत अन्तरवार्ताद्वारा कृषि चलनसम्बन्धी विस्तृत विवरण संकलन गरिएको विभागको भनाइ छ । सो गणनाअन्तर्गत पारिवारिक, व्यावसायिक तथा संस्थागत रूपमा सञ्चालन भएका कृषिकार्यको विवरण संकलन गरिएको हो । कृषि गणनामा सबै घरपरिवारको गणना नभई ७ सय ५३ ओटै स्थानीय तहको प्रतिनिधित्व हुने तथा पूर्ण विवरण आउने गरी तथ्यांकीय विधिबाट छानिएका करीब ३ लाख ५० हजार कृषक घरपरिवारको गणना गरिएको छ ।

जनणनामा करीब ४१ लाख कृषक परिवारको सूचीकरण भएकोमा ३ लाख ५० हजार कृषक परिवार वैज्ञानिक विधिबाट छनोट गरी विस्तृत विवरण संकलन गरिएको कृषि तथा वन तथ्यांक शाखाका वरिष्ठ अधिकृत सहनलक्ष्मी ताम्राकारले बताइन् ।

कृषक परिवार प्रश्नावलीमार्फत कृषक परिवार, कृषि चलन, कृषि कामदार, कित्ताको विवरण र सिँचाइ, खेती गरिएका अन्नबाली, कोसेबाली, दलहन, कन्दमूल, तेलबाली, नगदेबाली, मसलाबाली, अन्य तरकारी, फलफूल, बीउबिजन विषादी तथा मलखादको प्रयोगका विषयको जानकारी राष्ट्रिय कृषिगणनामा संकलन गरिएको छ ।    

गणनाअन्तर्गत पाल्तु पशुपक्षीको उमेरअनुसारको संख्या, कृषि कार्यमा प्रयोग हुने भवन र संरचना, कृषि औजार, पोखरीको विवरण र माछापालन, मौरीपालन, च्याउ र पुष्पखेती, रेशमखेती, कृषि ऋण, बीमा र अनुदान, कृषिमा वातावरणीय प्रभाव, प्राकतिक प्रकोप, खाद्य पर्याप्तता, महिला र पुरुषका नाममा रहेको कृषि जग्गा तथा परिवारका अन्य आर्थिक क्रियाकलापसम्बन्धी विवरण पनि छन् । पारिवारिक, व्यावसायिक र संस्थागतरूपमा उत्पादन हुने खेतीपाती, पशुपन्छीपालन, माछापालनको गणनाले यस क्षेत्रले राष्ट्रिय उत्पादनमा पार्ने प्रभाव तथा योगदानको अध्ययन गर्न सहयोग पुग्ने पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिए ।

व्यावसायिक रूपमा गरिएका तरकारीखेती, फलफूलखेती, ठूलो संख्यामा गरिएको कुखुरापालन, बाख्रापालन, दूध तथा दूधजन्य उत्पादन विक्रीका लागि गरिएको गाईभैंसीपालन आदि पर्दछन् । संस्थागत कृषिकार्य भन्नाले सरकारी, अर्धसरकारी वा गैरसरकारी फार्म पर्दछन् । यसमा सहकारी व्यवस्थापनअन्तर्गत सञ्चालित कृषि फार्म पनि पर्दछन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्