युवा पलायनले भोजपुरमा धान भित्र्याउन कामदार अभाव



भोजपुर,कात्तिक ११ । गाउँबाट युवा वैदेशिक रोजगारी र सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन कामदार पाउन मुस्किल भएको छ।

खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा पाकेको धान समयमै भित्र्याउन समस्या भएको किसानले बताएका छन्। धान काट्ने, बिटा बाँध्ने, खलोमा पुर्‍याउने र झाँटेर घरसम्म लैजाने काममा युवा जनशक्ति नहुँदा महिला तथा ज्येष्ठ नागरिकमाथि बढी भार परेको छ।

टेम्केमैयुङ गाउँपालिका–६ का बलबहादुर राई र हतुवागढी गाउँपालिका–२ का जयबहादुर थापाले गाउँमा युवा घट्दै जाँदा खेतीपातीको काम गर्न कठिन भएको बताएका छन्।

पहिले छिमेकी र आफन्त मिलेर पालैपालो खेती गर्ने चलन रहे पनि अहिले जनशक्ति अभावले उक्त परम्परा कमजोर हुँदै गएको किसानको भनाइ छ। उनीहरूले युवालाई गाउँमै रोक्न र आधुनिक कृषि प्रणाली अपनाउन स्थानीय सरकारसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्