मधेशका उद्योगको क्षमता उपयोग बढ्यो : नेपाल राष्ट्र बैंक



वीरगञ्ज,पुस २४ । मधेश प्रदेशका उद्योग कलकारखानाको क्षमता उपयोग बढेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय जनकपुरले गत आर्थिक वर्ष (आव) २०७८/७९ लाई आधार मानेर गरेको अध्ययनले यस्तो देखाएको हो । गतवर्ष मधेशका उद्योगको औसत क्षमता उपयोग ५९ दशमलव १६ प्रतिशत रहेको थियो । यो समीक्षा वर्षको तुलनामा करीब १० प्रतिशत बिन्दुले बढी हो ।

आव २०७७/७८ मा यो प्रदेशका उद्योगको क्षमता उपयोग ४९ दशमलव ७६ प्रतिशत थियो । राष्ट्र बैंकले मधेशका ३० उद्योगलाई नमूना छानेर अध्ययन गरेको हो ।

कोरोना संक्रमणमा कमी आएपछि उद्योगहरू सञ्चालनमा आउनु र उपभोक्ताको माग बढ्नुजस्ता कारणले उद्योगको क्षमता उपयोगमा सुधार आएको राष्ट्र बैंकले उल्लेख गरेको छ । सबैभन्दा बढी क्षमता उपयोग गर्नेमा फेब्रिकेटेड धातुको सामान उत्पादन गर्ने उद्योग रहेका छन् । यस्ता उद्योगले ९४ दशमलव ७२ प्रतिशत क्षमता उपयोग गरेको भेटिएको छ । यीबाहेक पेय पदार्थ, अन्न तथा पशु दाना, सुर्तीजन्य वस्तु र प्लास्टिक उत्पादक पनि बढी क्षमता उपयोग गर्नेमा परेका छन् ।

सबैभन्दा कम क्षमता उपयोग गर्नेमा कागज र कागजबाट बनेका वस्तुका उत्पादक छन् । यस्ता उद्योगको क्षमता १० दशमलव ७९ प्रतिशमात्र उपयोग भएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । आव २०७७/७८ पनि कागज उद्योगले सबैभन्दा कम (४ दशमलव ६८ प्रतिशत) क्षमता उपयोग गरेका थिए । त्यस वर्ष कपडा उद्योग सबैभन्दा अगाडि थिए । यस्ता उद्योगको क्षमता उपयोग ८४ दशमलव ७० प्रतिशत थियो । मधेश प्रदेशको हावापानी कपडा उत्पादनका लागि अनुकूल मानिन्छ ।

अध्ययन वर्षमा वनस्पति घिउ, तेल, लत्ताकपडा, खाद्यान्न पदार्थ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग घटेको छ । वनस्पति घिउ र तेल उद्योगको क्षमता उपयोग सबैभन्दा कम (५ दशमलव २९ प्रतिशत) रहेको छ ।

भारतले तेलको आयातमा उच्च दरको सीमा शुल्क लगाउँदा राजस्व अन्तरको फाइदा उठाएर यहाँका तेल उद्योगले निकासी बढाएका थिए । भारतले तेल आयातमा शून्य भन्सार नीति अपनाएपछि नेपालबाट तेल निकासी करीब ठप्प भएको उद्योगी सुरेश रुंगटाले बताए ।

प्रतिक्रिया दिनुहोस्