विदेशी चरा नेपालमा बस्न अनिच्छुक



काठमाडौं, पुस २४। हिउँदमा आउने विदेशी चरा नेपालमा बस्न अनिच्छुक देखिएका छन् । विशेषगरी हिउँद लागेपछि उत्तरी गोलार्द्धको चिसो छल्न नेपाल आउने गरेका चरा यहाँ बस्न अनिच्छा देखाउन थालेका हुन् ।

नेपालमा हिउँदे आगन्तुक पानी चराको गणना सुरु भएको छ । सिमसारयुक्त केही विशेष स्थलबाहेक अन्यत्र विदेशी चरा कम बास बस्न थालेको गणनाक्रममा फेलापरेको छ। शनिबार काठमाडौँको बागमती नदी र टौदहमा आएका पानी चराको गणना भयो ।

यहाँ खटिएका गणना संयोजक टेकबहादुर घर्तीले यस क्षेत्रमा हरेक वर्षजसो विदेशी पानी चराको आमगन कम हुँदै जान थालेको पाइएको बताए । टोलीले बिहानैदेखि बागमती नदीकिनार र टौदहको सेरोफेरोमा चरा गणना सुरु गरेको थियो ।

उनले शनिबार अपराह्न गणना सक्दा जम्मा तीन प्रजातिका आगन्तुक चरामात्र फेलापरेको जानकारी दिए । उनका अनुसार उत्तरी गोलार्द्धका मङ्गोलिया र साइबेरियाबाट आएका खडखडे हाँस करिब २६ वटा, बिजुला गैरी ३६ वटा र जलेवा करिब २० वटा फेलापरेका छन् ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्