प्रचण्ड मार्गमा मेयर रेनु दाहालद्वारा वृक्षरोपण कार्यक्रमको उद्घाटन

चितवन,पुस २४ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले प्रचण्ड मार्ग स्थित भरतपुर-२५ को शंकरचोकमा वीरेन्द्र फुलको विरुवा रोपेर वृक्षरोपणको सुरुवात गरेकी छिन । करिब २० किलोमिटर लम्बाई रहेको मार्गमा पहिलो चरण अन्तर्गत साढे ४ किलोमिटर शंकरचोकदेखि प्रभातचोकसम्मको २४ मिटर सडकको दायाँ बायाँ ट्रि-गार्डसहित विरुवा रोप्न लागिएको हो । भरतपुर महानगरपालिका मुख्य सडकहरुमा सौन्दर्यकरण गर्ने नीति पनि लिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरका पहिलो चरणमा सबै ठुला ठुला सडकमा वृक्षरोपण, मार्किङ्, नाला तथा फुटरेल राखी सौन्दर्यकरण गर्न लागिएको जानकारी दिए । उनले यी कामहरु अगाडि बढाउदा तत्काल सुन्दरतामा कमी आएपनि भावी दिनमा सभ्य र सुन्दर नगर बन्ने उल्लेख गरे। यो पवित्र कार्यमा स्थानीयबासीलाई सरिक भई स्मार्ट सिटी निर्माणमा सहयोग गर्न पनि प्रमुख दाहालले आग्रह गरे ।
प्रचण्ड मार्गको काम अब केही समयभित्र सकिएसँगै २० किमी दायाँ-बायाँ वृक्षरोपण गरिने जानकारी दिए । भरतपुर महानगरपालिकाकी वातावरण तथा हरियाली प्रर्वद्धन शाखा प्रमुख लक्ष्मी ठगुन्नाले करिब ७५५ वटा विरुवा माघको पहिलो सातासम्म रोपी सकिने जानकारी दिए । उनका अनुसार वीरेन्द्र फुल १२ महिना नै हरियो हुने र प्रदुषणमा पनि बाच्न सक्ने हुन्छ । यो कार्यको लागि १६ लाख खर्च हुनेछ ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, वडा नम्बर २५ का वडा अध्यक्ष छविलाल सापकोटा, वडा नम्बर २४ का वडा अध्यक्ष रामु गोदार, वडा नम्बर २५ का निवर्तमान अध्यक्ष विजयकुमार भुजेलले मन्तव्य राखेका थिए । भरतपुर महानगरपालिकाले अहिले बाईपास रोडको डिभाईडरमा वृक्षरोपण भईरहेको छ भने पुलचोक गोन्द्राङ ६ लेन सडकमा पनि डिभाईडरमा वृक्ष रोपण गर्ने छ ।