नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीहरूको अखडा भएको गगन थापाको आरोप



काठमाडौं,माघ १ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दैं महामन्त्री थापाले नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको जिकीर गरेका हुन् ।

शनिवार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले पूर्वप्रधानमन्त्रीहरुबीचको झेलबाट मुलुकलाई जोगाउन आफूले २/४ दिन भएपनि मुलुकको नेतृत्व गर्नका लागि प्रधानमन्त्री बन्छु भनेर निर्वाचनको बेला भनेको समेत स्मरण गराए ।

महामन्त्री थापाले आफ्नो दलमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो अकन्टक नेतृत्व रहने गरी सदस्यता वितरण गरेकाले यसबाट मुक्ति पाउने विषयमा विचार गर्नुपर्ने धारणा समेत राखे ।

उनले भने, ‘नेपालको राजनीतिक कस्तो भयो भने तीन जना भूतपूर्व प्रधानमन्त्रीहरुको अखडा जस्तो भयो । कुन चाँही भूतपूर्व प्रधानमन्त्रीले कुन चाँही भूतपूर्व प्रधानमन्त्रीलाई झुक्याउने भन्ने भयो? आइतवार फलानोले झुक्याउनु भएको थियो । सोमवार अर्कोले ठहरै पार्नु भयो । अहिले तपाईंहरू सबैको मनमा के छ ? कुन चाँही भूतपूर्वले कुन चाँही भूतपूर्व प्रधानमन्त्रीलाई झुक्याई राखेको होला । अस्ती सरकारलाई भोट किन हालेको होला । यो कुरा कसको मनमा छैन अहिले ?’

यो देशको राजनीति तीन जना भूतपूर्व प्रधानमन्त्रीहरूले एउटा अखडा भित्र कसले कसलाई छक्याउने, कसले कसलाई ढाल्ने भन्ने कुराको छिनोफानो गर्ने तीन जना पूर्वप्रधानमन्त्रीको क्लव जस्तो भएको उनको भनाइ छ ।

जतिखेर नेपाली काँग्रेस संसदीय दलको निर्वाचन भयो । त्यो बेला अरु विषयमा कुराकानी भयो होला । त्यो भन्दा बाहिर मंसीर ४ गतेबाट यहाँसम्म आइपुग्दा कुन चाँही भूतपूर्व प्रधानमन्त्रीले कुन चाँही भूतपूर्व प्रधानमन्त्रीलाई फल हान्नु भयो भन्ने बाहेक हामीले पढेको, सुनेको अर्को समाचार नभएको पनि थापाले बताए ।

महामन्त्री थापाले नेपालको राजनीतिलाई सही ठाउँमा ल्याउन संसदमा सबै राजनीतिक दलका सांसदहरुले मिलेर बहसलाई अघि बढाउनुपर्ने प्रस्ताव समेत राखे ।

प्रतिक्रिया दिनुहोस्