जिहादी समूहको आक्रमणमा १८ जनाको मृत्यु



एजेन्सी,माघ ७ । संदिग्ध जिहादी समूहको दुई भिन्नाभिन्नै आक्रमणमा परी सेनालाई सहयोग गर्ने १६ सहयोगीसहित कम्तीमा १८ जनाको मृत्यु भएको सुरक्षा स्रोतले शुक्रबार जनाएको छ ।

देशको उत्तर र उत्तरपश्चिममा बिहीबार भएको आक्रमण जिहादीविरुद्ध सात वर्षसम्म चलेको लडाइँमा सेनालाई सहयोग गर्ने एक नागरिक बलमाथि भएको पछिल्लो आक्रमण हो ।

पश्चिम अफ्रिकाको भूपरिवेष्ठित बुर्किना फासो विश्वको सबैभन्दा गरिब र सुरक्षाका हिसाबले विश्वको अस्थिर राष्ट्रमध्ये एक हो ।

बुर्किना फासो सन् २०१५ देखि अलकायदा र इस्लामिक स्टेट समूहसँग सम्बद्ध जिहादीहरूको नेतृत्वमा भएको विद्रोहसँग जुधिरहेको छ । द्वन्द्वका कारण दशौं हजारको मृत्यु भएको छ भने करिब २० लाख मानिस विस्थापित भएका छन् ।

उत्तरी प्रान्त बामाको राकोएगटेंगामा रहेको ‘भोलेन्टियर्स फर द डिफेन्स अफ द फादरल्याण्ड (भीडीपी)’ को अग्रदस्ता लक्षित गरी बिहीबारको पहिलो आक्रमण भएको भीडीपीका एक अधिकारीले बताएका छन् ।

आक्रमणमा परी छ नागरिक सहयोगी र एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीका अनुसार उक्त घटनामा करिब १० जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ र उनीहरूलाई उचित हेरचाहका लागि वागादुगु लगिएको छ ।

उहाँले भन्नुभयो, “दोस्रो आक्रमणमा उत्तरपश्चिमको नायला प्रान्तमा सहायक र सैनिकहरूको सुरक्षामा रहेको एक काफिलालाई सिएना–सरन सडकमा लुकिछिपी आक्रमण गर्दा करिब १० सहयोगी र अन्य एक व्यक्तिको मृत्यु भएको छ ।

सुरक्षा स्रोतहरूले दुई ‘जिहादी आक्रमण’ को पुष्टि गरेका छन् तर मृत्यु हुनेहरूको एकीन सङ्ख्या भने दिएका छैनन् । आक्रमणमा केवल ‘धेरै क्षति’ भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्