बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, तीन जना घाइते
काभ्रेपलाञ्चोक,कात्तिक २ — बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
झापाबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रोबस राति करिब २ बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा चालक इलाम नगरपालिका–६ का ३७ वर्षीय लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु गाउँपालिका–७ की २६ वर्षीया रिता आपागाईँ र उनका नौ वर्षीय छोरा रितिक घाइते भएका छन्।
अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार दुर्घटनामा घाइते भएका तीनै जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पुर्याएको छ।

