गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु, चालक गम्भीर घाइते



काठमाडौं,कात्तिक २ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित राम मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

कार्तिक १ गते राति करिब ११ः२० बजे सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना भएको हो। रौतहट घर भई हाल काठमाडौं महानगरपालिका–६, तिनचुली बस्ने १८ वर्षीय मोहन ठाकुरले चलाएको बा ९० प ३३२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक ठाकुर गम्भीर घाइते भएका छन् भने मोटरसाइकलको पछाडि सवार भारत घर भई हाल तिनचुली बस्ने १६ वर्षीय महमद जसिमको मृत्यु भएको छ।

दुर्घटनापछि जसिमलाई नेपाल मेडिकल कलेज, अत्तरखेल पुर्‍याइएको थियो। चिकित्सकले उनलाई बाटोमै मृत्यु भएको पुष्टि गरेका थिए।

गम्भीर घाइते चालक ठाकुरको नेपाल मेडिकल कलेजमा उपचार भइरहेकोमा थप उपचारका लागि कार्तिक २ गते बिहान १ः४५ बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्