आलुमा आत्मनिर्भर हुन साढे ३ लाख टन अपुग



काठमाडौं,माघ १५ । आलु उत्पादनमा आत्मनिर्भर हुन नेपालमा अझै करीब साढे ३ लाख मेट्रिक टन अपुग भएको पाइएको छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार ३ लाख ४२ हजार मेट्रिक टन उत्पादन बढाउन सके नेपाल आलुमा आत्मनिर्भर बन्न सक्छ ।

केन्द्रका अनुसार नेपालमा अहिले १ लाख ९८ हजार ७ सय हेक्टर जमीनमा गरिएको खेतीबाट वार्षिक ३३ लाख २५ हजार २ सय ३१ मेट्रिक टन आलु उत्पादन हुन्छ । बजार माग ३६ लाख ६७ हजार २ सय ५६ मेट्रिक टन छ । यस हिसाबले ३ लाख ४२ हजार टन अपुग देखिन्छ । नपुग आलु भारतलगायत मुलुकबाट आयात भइरहेको छ ।

केन्द्रका प्रमुख वासुदेव काफ्लेका अनुसार अहिले आलुको उत्पादकत्व १६ दशमलव शून्य ५ मेट्रिक टन प्रतिहेक्टर छ । आलुमा आत्मनिर्भर हुन खेती गरिने क्षेत्रफल २० हजार ४ सय हेक्टरले विस्तार गर्नुपर्ने र अहिलेको उत्पादकत्वको अवस्थामा समेत वृद्धि गरी १८ दशमलव ४४ मेट्रिक टन प्रतिहेक्टर पुर्‍याउनुपर्ने उनले बताए ।

सबै भूगोल र सबै मौसममा उत्पादन गर्न सकिने तथा नेपालको प्रमुख तरकारी बालीको रुपमा रहेको आलुले कुल गार्हस्थ्य उत्पादनमा ५ दशमलव ९६ प्रतिशत योगदान गरेको छ । नेपालमा वार्षिक प्रतिव्यक्ति आलु उपभोग १ सय ११ दशमलव ८ किलो छ । उच्च पहाडमा १८ प्रतिशत, मध्यपहाडमा ४२ प्रतिशत र तराईमा ४० प्रतिशत आलु उत्पादन हुन्छ । प्रदेशगत हिसाबले प्रदेश नं १ मा सबैभन्दा बढी ३० प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ७ प्रतिशत जमीनमा आलु उत्पादन हुने गरेको सरकारी तथ्यांक छ ।

उत्पादकत्वका हिसाबले दक्षिण एशियाली मुलुकहरुमा नेपालको आलु उत्पादकत्व अन्तिममा रहेको भुटानभन्दा एक स्थान मात्रै अगाडि छ । भुटानमा आलुको उत्पादकत्व ११ दशमलव शून्य २ मेट्रिक टन प्रतिहेक्टर छ । नेपालमा १६ दशमलव शून्य ५ मेट्रिक टन प्रतिहेक्टर छ । दक्षिण एशियामा सबैभन्दा बढी २२ दशमलव ५२ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व पाकिस्तानको छ ।

सरकारले पछिल्लो समय बीउ आलुमा आत्मनिर्भर हुन बीउ आलु आत्मनिर्भर कार्यक्रम सञ्चालन गरेको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र, निगालेका कार्यालय प्रमुख विजयकुमार गिरीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७३/७४ देखि देशका विभिन्न भागमा ४ ओटा निजी कम्पनीले नयाँ टिस्युकल्चर र स्क्रिन हाउस स्थापना गरेका छन् । तराईदेखि उच्च पहाडका सबै भौगोलिक क्षेत्र समेटिने गरी ४० जिल्लामा बीउ आलु कार्यक्रम चलाइएको छ । यसका साथै चालू आर्थिक वर्षमा खायन आलु प्रवर्द्धनका लागि ९७ ओटा स्थानीय तहमा १४ करोड ७८ लाख र बीउ आलु प्रवर्द्धन कार्यक्रमका लागि २२ ओटा स्थानीय तहमा ३ करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्