भूकम्पमा परी टर्की र सिरियामा अहिलेसम्म ५२१ जनाको मृत्यु, हजारौको खोजीकार्य जारी



एजेन्सी,माघ २३ । टर्की र सिरियाको सीमा क्षेत्रमा सोमवार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण ५२१ जनाले ज्यान गुमाएका छन् । सिरियामा जारी गृहयुद्ध र अन्य द्वन्द्वका कारण लाखौं मानिसले भरिएको यस क्षेत्रका प्रमुख शहरहरूको पूरै क्षेत्रलाई कम्पन गर्नेगरी करिब एक शताब्दीयताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको थियो ।  

स्वास्थ्य मन्त्रालय र स्थानीय अस्पतालका अनुसार सरकार नियन्त्रित सिरियाका साथै टर्की समर्थक समूहको कब्जामा रहेको उत्तरी क्षेत्रमा कम्तीमा २४५ जनाको मृत्यु भएको छ । टर्कीका उपराष्ट्रपति फुआत ओक्टेले सोमबार टर्कीमा कम्तीमा २८४ जनाको मृत्यु भएको र दुई हजार ३०० भन्दा बढी व्यक्ति घाइते भएको र केही प्रमुख शहरमा खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन् । 

मुख्य सडकहरू हिउँले ढाक्नेगरी आएको हिउँदे हिमआँधीका कारण उद्धारमा बाधा पुगेको टर्कीका उद्धारकर्मीहरूले बताएका छन् । टर्कीका मानिसहरू हिउँमा पाइजामा लगाएर उभिएर उद्धारकर्ताहरूले क्षतिग्रस्त घरहरूको भग्नावशेष खनेको टेलिभिजनद्वारा प्रशारित भिडियो तथा तस्वीरहरूमा देखाइएको छ । 

टर्कीको टेलिभिजनमा सार्वजनिक भएका तस्बिरमा उद्धारकर्मीहरूले कहरमानमारस र छिमेकी गाजियान्टेप शहरमा समतल भवनहरूको भग्नावशेष खनेको देखिएको छ । अदियामान, मालत्या र दियारबकिर शहरमा पनि भवनहरू भत्किएका छन्, जहाँ एएफपीका पत्रकारहरूले आत्तिएका मानिसहरू सडकमा दौडिरहेको देखेका थिए ।

माल्टा प्रान्तमा १३ औं शताब्दीमा निर्मित एक प्रसिद्ध मस्जिद आंशिक रूपमा भत्किएको थियो, जहाँ २८ अपार्टमेन्टहरू भएको १४ तले भवन पनि भत्किएको छ । अन्य शहरहरूमा पनि उद्धारकर्ताहरूले भग्नावशेषमा फसेका जीवित व्यक्तिहरूसम्म पुग्न संघर्ष गरिरहेका छन् । 

सिरियाली स्वास्थ्य मन्त्रालयले अलेप्पो, लाटाकिया, हामा र टार्टस प्रान्तमा क्षति पुगेको जनाएको छ । उत्तरी सिरियास्थित एएफपीका संवाददाताका अनुसार जमिनको भयङ्कर कम्पनपछि आत्तिएका बासिन्दा घरबाट भागेका थिए ।

टर्की विश्वकै सबैभन्दा सक्रिय भूकम्प प्रभावित क्षेत्रमध्ये एक हो । टर्कीको डुज्से क्षेत्रमा सन् १९९९ मा ७.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पमा इस्तानबुलमा करिब एक हजारसहित देशभर १७ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

विशेषज्ञहरूले लामो समयदेखि इस्तानबुलमा ठूलो भूकम्पले तहसनहस पार्न सक्ने चेतावनी दिँदै आएका छन् । यहाँ सुरक्षा सावधानी बिना ठूला भवन निर्माण गर्न अनुमति दिइएको छैन ।

त्यस्तै सन् २०२० को जनवरीमा एलाजिगमा गएको ६.८ म्याग्नीच्यूडको भूकम्पमा परी ४० जनाभन्दा बढीको मृत्यु भएको थियो । सोही वर्ष अक्टोबरमा टर्कीको एजियन तटमा गएको ७.० म्याग्निच्यूडको भूकम्पमा परी ११४ जनाको मृत्यु हुनुका साथै एक हजारभन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्