टर्कीमा भूकम्पबाट झण्डै पाँच हजार जनाको मृत्यु



एजेन्सी,माघ २४ । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म चार हजार नौ सय ८३ जनाको मृत्यु भएको छ । भग्नावशेषमा परिणत भएका हजारौँ भवनका भूमिमा उद्धारकर्मीहरू पीडितलाई जीवितै उद्धार गर्ने ध्येयका साथ खटेका छन् । यो दैवी विपत्तिमा ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने आपत्कालीन सुरक्षाकर्मीले बताएका छन् ।

उद्धार तथा राहतका काम प्रभावकारी ढङ्गले अघि बढाउन विश्वका विभिन्न मुलुकले सहयोगी टोली परिचालन गरेका छन् । टर्कीएका विपद् व्यवस्थापन निकायका अधिकारीले २४ हजार चार सय कर्मचारी भूकम्प प्रभावित स्थानमा परिचालन भएका बताएका छन् । करिब छ हजार भवन भत्केकाले सबै स्थानमा सहायता परिचालन गर्न कठिन भएको छ । कठ्याङ्ग्रिने चिसो तथा बारम्बारको पराकम्पका कारण उद्धार तथा राहतका कामलाई द्रुत गतिमा सम्पादन गर्न हम्मेहम्मे परेको छ । अहिलेसम्म झण्डै दुई सय पराकम्प भएकाले जोखिम मोलेर उद्धारमा जुट्न विलम्ब भएको छ ।

हाताए प्रान्तको राजधानी अन्तक्या नगरकी नरगुल अतायाले भग्नावशेषबाट आफ्नी आमाले गुहार मागेको धेरै बेर भएका एपीलाई बताइन् । पर्याप्त उद्धारकर्मी र भग्नावशेष पन्साउने विशाल उपकरण नहुँदा उनकी आमाको उद्धार हुन सकेको छैन । सत्तरी वर्षकी आफ्नी आमाले भग्नावशेषमा आफूलाई सम्हाल्न नसक्ने दुखेसो उनको छ । भूकम्पको केन्द्रविन्दुभन्दा दक्षिणपश्चिमको हाताए प्रान्तका एक हजार पाँच सय भवनमा क्षति भएको छ । भवनका भग्नावशेषमा फसेका धेरै मानिस उद्धारको प्रतीक्षामा छन् ।

टर्कीएको दक्षिणपूर्वी प्रान्त काह्रामानमारास केन्द्र भएर भएको शक्तिशाली भूकम्पको धक्काले दमास्कस र बेरुतका बासिन्दालाई घरबाट बाहिर निस्कन बाध्य पारेको थियो भने काह्रामानमारासभन्दा धेरै पर अवस्थिति इजिप्टको राजधानी कायरोमा पनि भूकम्पको झट्का महसुस गरिएको थियो । भूकम्पपीडितहरूले खेलस्थल, व्यापार मेला आयोजना गर्ने स्थानका साथै खुला आकाशमुनि आगो बालेर रात गुजारेका थिए ।

प्रतिक्रिया दिनुहोस्