सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त, ‘माओवादीविना विश्वासको मत नपाउने !’



काठमाडौं,माघ २७ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त भएका छन् । 

एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र रावलले विश्वासको मत लिन नसकेपछि आज (बिहीवार) उनी पदमुक्त भएका थिए । लगत्तै प्रदेश प्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनले भोलि शपथ लिनेछन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलहरूको समर्थनमा बनेको सरकार ढलेपछि उपधारा ३ अनुसार सरकार बनेको हो । संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको सरकारले पनि एक महीनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

विश्वासको मतका लागि मुख्यमन्त्री रावलले पेस गरेको प्रस्ताव नै छलफलका लागि पारित हुन नसकेपछि रावल पदमुक्त भएका थिए । उनलाई मुख्यमन्त्री हुन आवश्यक समर्थन दिएको नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद विश्वासको मत दिन काठमाडौंबाट धनगढी नगएपछि रावल १ महीनामै पदमुक्त भएका हुन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९ सांसद छन् । कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई माओवादीले समर्थन गरे मात्रै यो सरकार लामो समय जाने छ । अन्यथा यो सरकारले पनि विश्वासको मत पाउन सक्ने देखिँदैन । प्रदेश सभामा माओवादीका ११ जना सांसद रहेका छन् । एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्रबाट १/१ जना गरी ५३ जना संसाद रहेका छन् । 

सुदूरपश्चिम सरकारलाई माओवादीले विश्वासको मत दिएमा केन्द्रमा बनेको सत्ता गठबन्धन भत्किन सक्ने छ । फागुन २५ गतेका लागि तय भएको राष्ट्रपतिको निर्वाचनमा कांग्रेस वा एमाले कसका उम्मेदवार विजयी हुन्छन् भन्ने कुराले सत्ता गठबन्धन पनि हेरफेर हुने छ ।

एमालेका उम्मेदवारले राष्ट्रपतिको निर्वाचन जित्न नसकेमा एमालेले सरकार छोड्ने र नेपाली कांग्रेस अहिलेकै सरकारमा सहभागी हुने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्