दोधाराचाँदनीमा तीन वर्षभित्र सुक्खा बन्दरगाह बन्छ : प्रधानमन्त्री दाहाल
महेन्द्रनगर,फागुन २ । प्रधानमन्त्री पुष्पकमल दाहालले कञ्चनपुरको दोधाराचाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहको निर्माण तीन वर्षभित्रै सम्पन्न गरिसक्ने बताउनुभएको छ । सोमवार सुदूरपश्चिमको विकास आयोजना अनुगमनका लागि कञ्चनपुर पुगेका प्रधानमन्त्री दाहालले यस्तो दाबी गर्नुभएको हो । दोधाराचाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह निर्माणस्थलमा पुगेर उहाँले तीन वर्षभित्र काम सम्पन्न गरिसक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
सुक्खा बन्दरगाह निर्माणका लागि वातावणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा प्रधानमन्त्री दाहालले बताउनुभयो । ‘मेरो आसन्न भारत भ्रमणमा यो विषय उच्च प्राथमिकताका साथ उठ्छ, मेलै भन्दै आएको त्रिदेशीय रणनीतिक साझेदारीमार्फत नेपालले अधिकतम लाभ लिनुपर्दछ,’ उहाँले भन्नुभयो ।
सुक्खा बन्दरगाह निर्माणका लागि भारतीय पक्षसँग चाँडै समझदारीपत्रमा हस्ताक्षर हुने प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो । साथै दुईपक्षीय समझदारीपछि बन्दरगाह निर्माण क्षेत्र खाली गराएरपूर्वाधारको काम शुरू गरिने उहाँले बताउनुभयो ।
दोधाराचाँदनीको मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणका लागि स्थान छनोट गरिएको छ । प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकनपछि उद्योग वाणिज्य संघ कञ्चनपुरले आयोजना गरेको पर्यटन महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सुदूरपश्चिम देशकै आर्थिक विकासमा ठूलो सम्भावना बोकेको प्रदेश रहेको बताउनुभयो । उत्तर–दक्षिण कनेक्टिभिटीअन्तर्गत महाकाली कोरिडोर र कैलालीको हरैया विशेष आर्थिक क्षेत्र तथा दैजी–छेला औद्योगिक क्षेत्र विकासको कामलाई समेत तीव्रता दिइने उहाँको भनाइ थियो ।

