ट्विटरका पूर्व सीईओ ज्याक डोर्सीले ल्याए ट्विटरकै विकल्प, ‘यस्तो हुनेछ नयाँ सामाजिक संजाल ‘



एजेन्सी,फागुन १८ । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटरका सह–संस्थापक एवम् पूर्व सीईओ ज्याक डोर्सी पुनः सामाजिक सञ्जाल गेममा फर्किएका छन् । उनले ट्विटरको विकल्पको रुपमा ब्लुस्काई नामक सामाजिक सञ्जाल लञ्च गरेका छन् । यो अहिले एप्पलको एप स्टोरमा परीक्षण चरणमा उपलब्ध रहेको छ ।

इन्भाइट–वन्ली बेटामा मात्रै उपलब्ध रहेकोले यो आम प्रयोगकर्ताका लागि अहिले बर्जित नै छ भन्दा पनि हुन्छ । तर यसको सार्वजनिक लञ्चको तयारी भइरहेको छ । यसलाई ब्लुस्काई टिमले सन् २०२२ को अक्टोबरमा एउटा ब्लगमा ट्विटरको विकल्प बताएका छन् । एप इन्टेलिजेन्स कम्पनी डेटा डट एआईका अनुसार फेब्रुअरी १७ मा आईओएस स्टोरमा लञ्च भएयता यो कमितमा २ हजार पटक डाउनलोड भएको छ ।

यसको प्रयोगकर्ता इन्टरफेस निकै सजिलो छ । यसमा प्रयोगकर्ताहरुले फोटोसमेतको २५६ अक्षरको पोष्ट हाल्न सक्नेछन् । ट्विटरले के भइरहेको छ भनेर सोध्छ भने ब्लुस्काईले के छ भनेर सोध्छ । खबरका अनुसार ब्लुस्काईमा एकाउन्ट शेयर गर्ने, म्यूट गर्ने र ब्लक गर्ने अप्शनले काम गरिरहेको छ । यसमा मानिसहरु फलो गर्न वा फिडको अपटेडका लागि एपमा पुछारको बीचमा नेभिगेशन बटन छ ।

नयाँ लाइक, रिप्लाई, रिपोष्ट आदिका जानकारी दिन नोटिफिकेशन ट्याब पनि छ । प्रयोगकर्ताहरुले अरुलाई फलो गर्न सक्नछन् । तर अहिले भने एपमा मानिसहरुलाई सिधैं सन्देश पठाउने कुनै विकल्प छैन । प्रयोगकर्ताको प्रोफाइलमा प्रोफाइल तस्विर, पृष्ठभूमि बायो र मेट्रिक्स आदि देखाउँछ । सन् २०१९ मा डोर्सी ट्विटरको सीइओ छँदै ब्लुस्काईको काम भइरहेको थियो ।

यसले ट्विटरबाट वित्तीय टेवा पनि पाएको थियो । ब्लुस्काईको अनुसन्धान र विकासमा गएको वर्ष १ करोड ३० लाख डलर खर्च गरिएको थियो । ट्विटरमा सीईओ छाड्ने बित्तिकै डोर्सीले ब्लुस्काईलाई सामाजिक सञ्जालका लागि खुला विकेन्द्रीकृत मानक हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्