३७ भन्दा बढी मुलुकका पारखीको धीत मार्दै नेपाली चिया



काठमाडौं,फागुन २५। नेपाल अधिकतर वस्तुमा परनिर्भर छ। बर्सेनि खर्बौंको कृषिजन्य वस्तु आयात गरिरहेको छ । तर नेपाली चियाले विश्वका ३७ बढी मुलुकका चिया पारखीको धीत मारिरहेको छ । नेपाली बगानमा उत्पादित चियाको स्वादले विश्व बजारका उपभोक्तालाई आकर्षित गरिरहेको छ ।

यहाँ उत्पादित चिया गुणस्तरीय भएकैले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको र अहिले ३७ बढी मुलुकमा निर्यात हुन थालेको छ । नेपालको चिया छिमेकी मुलुक भारत, चीनमा मात्र होइन सात समुद्रपारि अमेरिका, क्यानडासम्म निर्यात भइरहेको छ ।

पछिल्लो पटक चीनमा आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली बगानको चियाको स्वाद र महक अब्बल ठहरिएको थियो । चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना गरेको चियाको गुणस्तर मूल्यांकन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ग्रान्ड गोल्ड मेडल प्राप्त गरेपछि यसको प्रचारप्रसारले व्यापकता पाउँदा माग बढ्न थालेको छ ।

इलामको तीनजुरे किसान सहकारी संस्थाले उत्पादन गरेको चियाले ग्रान्ड गोल्ड मेडल प्राप्त गरेको थियो । यस प्रतिस्पर्धामा गुणस्तरीय ठहरिएपछि विश्वका चिया पारखीको ध्यान नेपाली चियातर्फ थप आकर्षित भएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्