‘च्याटजीपीटी’को प्रतिस्पर्धी ‘बार्ड’को अमेरिका र बेलायतमा परीक्षण शुरु



एजेन्सी,चैत ९ । ओपन एआईको अन्तरक्रियात्मक प्लेटफर्म च्याटजीपीटी (ChatGPT) को प्रतिस्पर्धी ‘बार्ड’को अमेरिका र बेलायतमा परीक्षण शुरु गरिएको छ । च्याटजीपीटीको लन्चपछि गुगलले ल्याएको ‘बार्ड’को त्यहाँका निश्चित प्रयोगकर्ताहरूमाझ परीक्षण थालिएको हो । परीक्षणपछि यो क्रमशः सबै प्रयोगकर्ताहरूमा रोल आउट हुनेछ । 

‘गुगलका ८० हजार कर्मचारीसँग बार्डको परीक्षण गरिसकेपछि पहिलो चरणका रूपमा अमेरिका र बेलायतमा जनतासँग यसको परीक्षण गरिनेछ,’ गुगलका सीईओ सुन्दर पिचाईले मंगलवार आफ्ना कर्मचारीहरूलाई भनेका छन्, ‘डाटाहरू गलत हुन सक्छन् । तर, उत्पादन र प्रविधि सुधार गर्न प्रयोगकर्ताको प्रतिक्रिया आवश्यक छ ।’

एआईको संसारमा माइक्रोसफ्टको ठूलो लगानी भएको कम्पनी ओपनएआई (OpenAI) को च्याटजीपीटी (ChatGPT) अहिले सबैभन्दा अगाडि छ । ChatGPT गत वर्षको नोभेम्बर ३० मा लन्च गरिएको थियो । एक महीनामा यसले १०० मिलियन प्रयोगकर्ताहरू पार गरेको च्याटजीपीटीले नयाँ जानकारी सङ्कलन गरेर नयाँ डाटा उत्पादन गर्न जेनेरेटिभ एआई प्रविधि प्रयोग गरिरहेको छ ।

यसअघि गुगलले आन्तरिक परीक्षणको लागि भन्दै आफ्ना कर्मचारीलाई मात्र एक्सेस दिएको थियो । गुगलका उपाध्यक्ष प्रभाकर राघवनले कर्मचारीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्समा आधारित बार्डलाई आन्तरिकरूपमा परीक्षण गर्दा प्रतिक्रियाहरू कसरी समाधान गर्नुपर्छ भन्ने निर्देशनहरू सहितको लिङ्क समावेश गरेर इमेल लेखेका थिए । यसका साथै सीईओ सुन्दर पिचाईले कर्मचारीहरूलाई आफ्नो समयको दुईदेखि चार घण्टा बार्डमा बिताउन आग्रह गरेका थिए । 

‘यो रोमाञ्चक प्रविधि हो । तर, अझै यो प्रारम्भिक दिनहरूमा छ,’ राघवनले लेखेका थिए, ‘हामी यसलाई सही बनाउनको लागि प्रयास गरिरहेका छौं ।  तपाईंको सहभागिताले मोडेलको प्रशिक्षणलाई तीव्र पार्न र यसको लोड क्षमतासमेत परीक्षण गर्न मद्दत गर्नेछ।’

यसअन्तर्गत गुगलले कर्मचारीहरूलाई प्रतिक्रियाहरू ‘विनम्र, अनौपचारिक र पहुँचयोग्य’ राख्न निर्देशन दिएको छ । कर्मचारीहरूलाई स्टेरियोटाइप नगर्न र जाति, राष्ट्रियता, लिङ्ग, उमेर, धर्म, यौन झुकाव, राजनीतिक विचारधारा, स्थान वा समान विषयमा आधारित अनुमानहरू नगर्न भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्