ट्युनिसियाली तटमा डुंगा दुर्घटना हुँदा ७ जना आप्रवासीको मृत्यु, ६७ वेपत्ता



एजेन्सी,चैत ११ । उत्तरी ट्युनिसियाको तटमा आप्रवासी सवार रहेको दुर्घटना हुँदा करिब ७ जनाको मृत्यु भएको छ।

डुंगामा सवार ६७ जना वेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका हुन् । पछिल्लो दुई दिनमा महिला र बालबालिका सवार रहेको डुंगा दुर्घटना भएको यो पाँचौं घटना हो । इटालीतर्फ गइरहेको सोही डुंगा दुर्घटना भएको सरकारी अधिकारीहरुले अनुमान गरेका छन् । ट्युनिसियाको तटीय सुरक्षाकर्मीहरूले दुई दिन यता इटाली जान लागेका ५६ वटा डुंगा नियन्त्रणमा लिएको बताएका छन्।

सोही क्रममा सुरक्षाकर्मीले ३ हजार भन्दा बढीलाई नियन्त्रणमा लिएका छन् । संयुक्त राष्ट्र संघको पछिल्लो तथ्यांक अनुसार यो वर्ष मात्र १२ हजार भन्दा बढी आप्रवासी ट्युनिसियाबाट अन्यत्र गएका छन् । गत वर्षको सोही अवधिमा भने सो संख्या १३ सय मात्र रहेको थियो । गत महिना ट्युनिसियालीका राष्ट्रपति काइस साईदले आफ्नो मुलुकमा बसोबास गर्ने अफ्रिकी आप्रवासीहरु आपराधिक गतिविधिमा बढी संलग्न भएको टिप्पणी गर्नुभएको थियो ।

उहाँको सोही अभिव्यक्तिको अफ्रिकी संघले आलोचना गरेको थियो । यस्तै विभिन्न मानवअधिकारवादी संघ संस्थाहरुले जातीय घृणा ल्याउन खोजेको भन्दै राष्ट्रपति साईदको आलोचना समेत गरेका थिए । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले आर्थिक सहायतामा रोक लगाएपछि पछिल्लो समय ट्युनिसि आर्थिक संकटबाट गुज्रिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्