सुन आयात ११ अर्ब ७० करोडले घट्यो, गहना निर्यातमा पनि ७० प्रतिशतको गिरावट



काठमाडौं,चैत १२ । सुन आयातमा भारी गिरावट आएको छ । पछिल्लो एक वर्षको अवधिमा साढे ११ अर्ब बढीले सुन आयातमा कमी देखिएको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको वैदेशिक व्यापार सम्वन्धीको तथ्याङ्कले यस्तो देखाएको हो ।

विभागका अनुसार चालु आवको फागुन मसान्तसम्ममा १६ अर्ब ४६ करोड ९२ लाख ४३ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ । सो अवधिमा २ हजार २१६ दशमलव ५८६ केजी सुन नेपाल भित्रिएको हो । जुन गत वर्षको समिक्षा अवधिको तुलनामा ४१.५४ प्रतिशत अर्थात ११ अर्ब ७० करोड ३९ लाख ८५ हजार रुपैयाँले कमी हो । गत वर्षको फागुन मसान्तसम्ममा भने २८ अर्ब १७ करोड ३२ लाख २७ हजार रुपैयाँ बराबरको ४ हजार ४४ दशमलव ५ केजी सुन नेपाल भित्रिएको थियो ।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ निरन्तर बढ्दै जाँदा नेपालमा भने सुन आयातमा गिरावट आएको हो । सरकारले कोटा घटाएपछि नै सुन आयातमा कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई छ । ‘सरकारले अहिले दैनिक १० केजी सुन मात्र आयात गर्न दिएको छ । विशेषगरि सरकारले दैनिक २० केजी आयात गर्ने ठाउँमा १० केजीको कोटा तोकेपछि नै आयात घटेको हो ।’–महासंघका एक अधिकारीले भने ।

सरकारले कोरोना माहामारी अर्थात लकडाउन अघि नै व्यापार घाटा घटाउने प्रयास स्वरुप प्रतिदिन २० किलो सुन आयात गर्न पाउने व्यवस्थालाई घटाएर दैनिक १० किलोमा सीमित गरेको छ । त्यसपछि नै क्रमशः सुन आयात कम भएको हो ।

चालु आवको फागुन मसान्तसम्ममा सबैभन्दा धेरै सुन आयात युनाईटेड अरव इमिरेट्स (यूएई) बाट भएको छ । यूएईबाट १४ अर्ब २८ करोड ८१ लाख ८९ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ । सो दिनबाट नेपालमा १ हजार ९१६ दशमलव ५४६ केजी सुन नेपाल भित्रिएको हो ।

यस्तै, सो अवधिसम्ममा टर्कीबाट १ अर्ब ४७ करोड ८ लाख ८ हजार रुपैयाँ बराबरको २ सय केजी, स्टीटजरल्याण्डबाट ७० करोड ९९ लाख ६६ हजार रुपैयाँ बराबरको १ सय केजी र उज्वेकिस्तानबाट २ लाख ८० हजार रुपैयाँको ४० ग्राम मात्रै सुन आयात भएको छ ।

तर, गत आवको फागुन मसान्तसम्ममा भने यूएईबाट २२ अर्ब २४ करोड ४४ लाख ७८ हजार रुपैयाँ बराबरको ३ हजार १८३ केजी सुन आयात भएको थियो । सो अवधिमा टर्कीबाट भने ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको ८६१ दशमलव ५ केजी सुन आयात भएको थियो ।

सुनको आयातमा कमी आएसंगै राजश्व संकलन पनि प्रभावित भएको छ । गत वर्षको फागुन ३ अर्ब ४३ करोड ७८ लाख ३० हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । तर, यस वर्षको समिक्षा अवधिमा भने ४५.१९ प्रतिशतले कमी हो । चालु आवको ८ महिनामा सुन आयातबाट सरकारले १ अर्ब ८८ करोड ४१ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

७० प्रतिशतले घट्यो नेपालबाट बाहिरिने सुनका गहना निर्यात

नेपालबाट बाहिरिने मौलिक सुनका गहना निर्यात पनि प्रभावित भएको छ । विभागको तथ्याङ्कअनुसार एक वर्षमा सुनका गहना निर्यात ७०.१८ प्रतिशतले घटको छ ।

गत वर्षको आठ महिनामा अर्थात फागुन मसान्तसम्ममा ३९ करोड ९१ लाख ५१ हजार रुपैयाँ बराबरको सुन गहना निर्यात भएको थियो । तर, चालु आवको समिक्षा अवधिमा भने २५ करोड ९० लाख ९१ हजार रुपैयाँले कमी हो । चालु आवको आठ महिनामा नेपालबाट ११ करोड रुपैयाँ बराबरको ११ दशमलव ७३७ केजी मात्र सुनका गहना निर्यात भएको छ ।

पछिल्लो समय स्वदेशमा काँचो सुनको अभावले गहना निर्यातमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चालु आवको आठ महिनामा नेपालबाट दुई देशहरु अमेरिका र अष्ट्रेलियमा मात्रै सुनका गहना निर्यात भएको छ । सो अवधिमा ८ करोड ७७ लाख ४३ हजार रुपैयाँ बराबरको अमेरिका र २ करोड २३ लाख १७ हजार रुपैयाँ बराबरको सुनका मौलिक गहना अष्ट्रेलिया निर्यात भएको विभागले जनाएको छ ।

आव २०७७/७८ देखि नेपालबाट सुनका गहना विदेश निर्यात हुन थालेको हो । अमेरिका, अस्ट्रेलिया र हङकङमा सुनका गरगहना निर्यात हुने गरेको छ । विशेषगरि विदेशी मुलुकमा बन्न नसक्ने मौलिक सुनका गहना नेपालबाट निर्यात हुने गरेको छ । विदेशी मुलुकमा नेपालीहरुको बसोबास देशहरुबाट यस्ता सुनका गहनाको माग हुने गरेको छ। गत आवको फागुन मसान्तसम्ममा ४३ केजी सुनका गहना नेपालबाट बाहिरिएको थियो । गत आवको फागुन मसान्तसम्ममा भने नेपालबाट अमेरिकामा ३० करोड ५७ लाख ६७ हजार रुपैयाँ बरारबको ३५ दशमलव ४३६ केजी सुनका गहना निर्यात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्