महिला नेतृत्व शिखर सम्मेलन सम्पन्न



काठमाडौं,चैत १४ । नेपाल उद्योग परिसंघ महिला नेतृत्व मञ्चले आयोजना गरेको दुईदिने महिला नेतृत्व शिखर सम्मेलन आठबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । वित्तीय पहुँच बढाउँदै महिलालाई आत्मनिर्भर बनाउनेतर्फ नीतिगत व्यवस्था हुनुपर्ने र भएका नीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सम्मेलनमार्फत जोड दिइएको छ ।

विश्वव्यापी व्यापार, प्रत्यक्ष विदेशी लगानी (एफडीआई), अन्तर–क्षेत्रीय सम्बन्ध र नेटवर्कमा महिलालाई वित्तीय र डिजिटल साक्षरतामा थप पहुँच चाहिने सुझाव सम्मेलनको छ । समावेशी संयन्त्र, नीति निर्माण एवं प्रणालीको विकास कार्यमा महिलाको सहभागिता बढाउने गरी ठोस व्यवस्था गर्नुपर्ने सम्मेलनको निष्कर्ष छ । राजनीतिक स्थानमा महिला सहभागिताका लागि न्यूनतम थ्रेसहोल्ड ३३ प्रतिशत रहेको भए पनि राजनीतिक क्षेत्रमा लैंगिक समानता हासिल गर्न महिलाको प्रतिनिधित्व कम्तीमा ५० प्रतिशत बनाउन आग्रह गरिएको छ ।

यसैगरी लैंगिक न्याय, लैंगिक समानता अघि बढाएर आर्थिक, सामाजिक तथा राजनीतिक प्रगतिका लागि निर्णायक तहमा महिलाको उपस्थिति बढाउनुपर्नेमा सम्मेलनमा सहभागी राजनीतिकर्मी, परिवर्तनकारी महिला र राष्ट्रिय एवंं अन्तरराष्ट्रिय विज्ञहरूले जोड दिएका छन् ।

सम्मेलनको अन्तिम दिन जारी गरिएको घोषणापत्र नेपाल सरकारलाई हस्तान्तरण गरिएको मञ्चले बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोयानारायण ज्ञवाली र राष्ट्रिय योजना आयोगका सहसचिव बाबुराम सुवेदीलाई उक्त घोषणापत्र हस्तान्तरण गरिएको हो । घोषणापत्र बुझ्दै सचिव ज्ञवालीले सम्मेलनमा गरिएको छलफल समय सान्दर्भिक एवं सुझावहरू महिला सशक्तीकरणका लागि महत्त्वपूर्ण भएको बताए ।

‘नेतृत्वमा महिला’, ‘अर्थतन्त्रमा महिलाको योगदान’ र ‘परिवर्तनका संवाहक महिला’ विषयमा भएका बहस, विमर्श एवं छलफलबाट निकालिएका सुझाव सरकारले आगामी दिनमा नीतिगत रूपमा सम्बोधन गर्ने परिसंघको विश्वास छ ।

कोभिड–१९ महामारीपछि महिला नेतृत्वका तीनओटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर आयोजित सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स, जर्मनीलगायत मुलुकका राजनीतिक, आर्थिक, सामाजिक, वातावरणीय लगायत क्षेत्रमा स्थापित, रूपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्व समेत गरी करीब ४०० जनाको सहभागिता थियो ।

शनिवार सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभएको थियो । सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्‍याएका म्यागी डोइन र सोनिका मानन्धरलाई ‘इन्स्पायरिङ ओमन अफ द इयर’बाट सम्मान गरिएको थियो । सम्मेलनमा उद्यमशीलता प्रवर्द्धनका लागि महिला उद्यमीबाट उत्पादित स्वदेशी वस्तुको प्रदर्शनी समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्