सवारीसाधनको प्रदूषण परीक्षण उपकरणबाट गरिने



काठमाडौं,चैत १४ । खरीद गरिएको झन्डै एक दशकपछि सवारीसाधनको जाँच गर्ने उपकरण सञ्चालनमा ल्याउने तयारी गरिएको छ । टेकुस्थित सवारी परीक्षण कार्यालयले उपकरणमार्फत सवारीसाधनको प्रदूषण जाँच गर्न तयारी अघि बढाएको हो । उपकरण मर्मत गरेर तयार भए पनि अहिलेसम्म कार्यविधि नभएकाले सञ्चालन हुन नसकेको कार्यालयले बताएको छ ।

सरकारी कार्यालयमा उपकरण सञ्चालनका लागि कार्यविधि आवश्यक पर्छ । सञ्चालनको मापदण्डबारे यातायात व्यवस्था विभागले छलफल चलाएको छ । उपकरण मर्मतपछि नियमित नचलाए पनि कहिलेकाहीँ सञ्चालन भइरहेको कार्यालयका प्रमुख मणिराम भुसालले बताए ।

उनले भने, ‘सवारी ऐनमा जाँच गर्नुपर्ने व्यवस्था रहे पनि उपकरणबाट जाँच गर्न अनिवार्य गरिएको छैन ।’ कस्तो गाडीमा अनिवार्य गर्ने भनी विज्ञले दिएको सुझावका आधारमा गरिनेछ ।

अहिले सवारीसाधन सञ्चालनका लागि कार्यालयले परीक्षण गर्दै आएको छ । अहिलेसम्म ‘म्यानुअल’ रूपमा प्रदूषण परीक्षण हुँदै आएकोमा त्यसलाई उपकरणको माध्यमबाट गर्न लागिएको हो । सार्वजनिक सवारीसाधनको प्रदूषण जाँच ६–६ महीनामा गर्नुपर्छ । अहिले प्राविधिकले हेरेर परीक्षण गरिरहेका छन् । विदेशमा निजी सवारीसाधनको प्रदूषण जाँच गर्नुपर्ने व्यवस्था भए पनि नेपालमा अहिलेसम्म अनिवार्य छैन । निजी सवारीसाधनमा प्रदूषण जाँच अनिवार्य गरिएको छ । केन्द्रमा अहिले प्रदूषण जाँच गर्न मासिक दुई हजार पाँच सयदेखि तीन हजारसम्म सवारीसाधन आउँछन् ।

उपकरण पूर्ण रूपमा तयारीमा रहेको र सञ्चालनका लागि हेभी गाडीको चालक अनुमतिपत्र भएको चालक आवश्यक रहेको केन्द्रले बताएको छ । उपकरण नियमित सञ्चालन गर्न दुई चालक आवश्यक पर्छ । उपकरणको क्षमताअनुसार आधा घण्टामा एउटा र दिनमा १५ गाडी मात्र जाँच्न सकिन्छ । त्यो क्षमताअनुसार धेरै गाडी कसरी गर्न सकिएला भन्नेमा विभागमा अन्योल छ । अन्यत्रका सवारी परीक्षण केन्द्र पनि जाँचका लागि उपकरण खरीद गर्ने तयारीमा रहेको बताइएको छ ।

उपकरणबाटै सवारीसाधनको स्वस्थता परीक्षणका लागि सरकारले आर्थिक २०६६/६७ को बजेटमा गरेको व्यवस्थानुसार विसं २०६८ मा उपकरण खरीद गरेको थियो । सो उपकरणमा परीक्षणका लागि ठूला र साना सवारीसाधनलाई छुट्टाछुट्टै लेन छन् । कुनै सवारीसाधन लेनमा प्रवेश गरेपछि त्यसको कुन–कुन भागको अवस्था कस्तो छ भन्ने कम्प्युटरमा देखिनेछ । रासस

प्रतिक्रिया दिनुहोस्