चार्टर्ड उडानको अनुमति माग गरेपछि निगमलाई क्यानले सोध्यो स्पष्टीकरण



काठमाडौं,चैत १४। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो ।

क्यानका महानिर्देशक प्रदीप अधिकारीले निगमले नियमित उडानका लागि मलेसियाको नागरिक उड्डयन प्राधिकरणसमक्ष समयमै आवश्यक कागजात नबुझाउँदा उडानको अनुमति नपाएको जानकारी दिए ।

निगमले नियमित उडानको अनुमति नपाएपछि अहिले क्यान समक्ष चार्टर्ड उडानका लागि अनुमति माग गरेको छ । ‘निगमसमक्ष काठमाडौं–मलेसियामा सातामा १४ वटासम्म उडान गर्ने सुविधा छ,’ उनले भने, ‘तर निगमले हेलचेक्य्राइँ गरी पुरानो कागजात पठाएकाले उडान अनुमति पाएको छैन ।’ निगमसँग सातामा सात ओटा नियमित उडान गर्न सक्ने प्रावधान बाँकी रहँदा पनि चार्टर्ड उडान किन गर्नुपरेको भन्दै स्पष्टीकरण सोधिएको उनको भनाइ छ । निगमका प्रवक्ता अर्चना खड्काले मलेसियाको नागरिक उड्डयन प्राधिकरणसमक्ष ‘समर सेड्युल’का लागि मार्च २८ देखि उडान अनुमति माग गरेको बताइन् । रासस

प्रतिक्रिया दिनुहोस्