अदुवा आयात भन्दा निर्यात धेरैः १२० प्रतिशतले बढ्यो निकासी, कुन–कुन देश पुग्छ नेपाली अदुवा ?



काठमाडौं,चैत १४ । नेपालबाट निर्यात हुने वस्तुमध्ये अदुवा पनि एक हो । यो निर्यात हुने कुलवस्तुको २०औं नम्वरमा छ । अदुवा नेपालबाट निर्यातयोग्य वस्तुको शून्य दशमलव ७ प्रतिशत हिस्सा मात्रै छ । तर, यो आयात भन्दा निर्यात नै बढी हुने गरेको छ । भन्सार विभागको तथ्याङ्कले पनि नेपालबाट अदुवा निर्यात बढी र आयात कम भएको देखाएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा नेपालबाट ७३ करोड ७७ लाख ६ हजार रुपैयाँ बराबरको अदुवा बाहिरिएको छ । जुन गत वर्षको समिक्षा अवधिको तुलनामा १२०.४ प्रतिशतले बढी हो । गत आवको फागुन मसान्तसम्ममा नेपालबाट ३३ करोड ४६ लाख ७३ हजार रुपैयाँ बराबरको ६ हजार २१७ मेट्रिक टन बढी अदुवा बाहिरिएको थियो ।

अदुवा भान्सामा नियमित मसालको रुपमा लिने गरिएको छ । अदुवाको सेवनले स्वास्थ्यमा निकै फाइदा पुर्याउने विज्ञहरुको भनाई छ । विशेषगरि यसको प्रयोगबाट भिटामिन र मिनरल्स लगायको तत्व प्रशस्त पाईन्छ । आयुर्वेदमा पनि यसको प्रयोगको इतिहाँस निकै लामो रहेको छ । अदुवाको नियमित सेवनले वाकवाकी तथा वान्ता हुने, जोर्नीहरू सुन्निने, अपच, मांशपेसीको दुखाई कम, कोलेस्टेरोललाई सन्तुलन गर्न मद्दत गर्नुका साथै प्रतिरोधात्मक क्षमता बढाउने विज्ञहरु बताउछन् । यद्यपि, औषधीय महत्वसहित खानाको विशिष्टता र स्वादका लागि अदुवा प्रयोग हुने गरेको जानकारहरु बताउँछन् ।

नेपालमा उत्पादित अदुवा भारत, बंगलादेश, नेदरल्याण्ड, जापान, जमर्नी, यूएई, कतार लगायतका मुलुकमा पुग्ने गरेको छ । यी मुलुकहरुमा रोजगारीमा गएका तथा बसोबास गर्ने नेपालीहरुको संख्या पनि बाक्लो छ । सोही कारण पनि अदुवा माग हुने गरेको छ । उनीहरुले भान्सा र औषधीकै रुपमा प्रयोगका लागि अदुवा नेपालबाट लैजाने गरेको बताइन्छ ।

चालु आवको आठ महिनाको अवधिमा १ करोड ७७ लाख ६२ हजार ५ सय केजी अदुवा निर्यात भएको विभागले जनाएको छ । नेपालको अदुवा सबैभन्दा धेरै भारततर्फ नै निर्यात हुने गरेको छ । आठ महिनामा ६५ करोड ३६ लाख ९७ हजार रुपैयाँ बराबरको १७ हजार मेट्रिक टन बढी अदुवा भारतीय बजारमा पुगेको छ ।

समिक्षा अवधिमा भारतपछि जर्मनमा तर्फ धेरै निर्यात हुने गरेको छ । जर्मनमा ७ करोड ८० लाख २४ हजार रुपैयाँ बराबरको १ लाख १९ हजार केजी नेपाली अदुवा पुगेको छ । यस्तै, कतारमा ४० लाख ६ हजार रुपैयाँ बराबरको १२ हजार ६३० केजी, बंगलादेशमा १९ लाख ५ हजार रुपैयाँ बराबरको २८ हजार ५ सय केजी, जापानमा १९ हजार रुपैयाँ बराबरको ९८ केजी र यूएईमा ३ हजार रुपैयाँ बराबरको ५ केजी अदुवा निर्यात भएको छ । गत आवामा भने कुल ६४ करोड १४ लाख ५६ हजार रुपैयाँ बराबरको ११ हजार ९५८ मेट्रिक टन बढी अदुवा निर्यात भएको थियो ।

नेपाल अदुवा कृषकहरुले भने सरकारले व्यवसायीकरण र बजारीकरणमा खासै चासो नदेखिाएको गुनासो गर्दै आएका छन् । नेपालमा वार्षिक तीन लाख मेट्रिक टनसम्म अदुवा उत्पादन हुने गरेको छ । सरकारले निर्यात प्रवद्र्धनका लागि प्रविधि र औद्योगिकरणको विकास गर्न सके अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली अदुवाले राम्रो उपस्थिति जनाउँन सक्ने जानकारहरुको भनाई छ । अदुवा उत्पादन, प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ र विविधिकरणमा नेपालले ठुलो लगानी आवश्यक रहेको छ ।

निर्यात धेरै आयात कम, अदुवा आयात ५२ प्रतिशतले घट्यो

चालु आवको आठ महिनामा निर्यातभन्दा आयात कम छ । सो अवधिमा ७३ करोड बढीको अदुवा निर्यात भएकोमा आयात रकम भने यसको तुलनामा कम छ ।

भन्सार विभागका अनुसार चालु आवको फागुन मसान्तसम्ममा ४ करोड ९२ लाख ४४ हजार रुपैयाँको मात्रै अदुवा नेपाल भित्रिएको छ ।

नेपालमा छिमेकी दुई मुलुक भारत, चीन र कोरियाबाट आयात हुने गरेको थियो । तर, चालु आवको आठ महिनामा भारतबाट मात्रै सो रकम बराबरको अदुवा आयात भएको छ । यद्यपि, कोरियाबाट पनि १ हजार रुपैयाँ बराबरको १ केजी मात्रै अदुवा आयात भएको छ । चालु आवको फागुन मसान्तसम्ममा कुल २ लाख १ हजार ४२४ केजी अदुवा आयात भएको हो ।

जुन, गत वर्षको समिक्षा अवधिको तुलनामा ५ करोड ४३ लाख १ हजार रुपैयाँ अर्थात ५२.४५ प्रतिशतले कम हो । गत आवको फागुन मसान्तसम्मा कुल १० करोड ३५ लाख ६३ हजार रुपैयाँ बराबरको ४ लाख ८५ हजार ३८६ केजी अदुवा आयात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्